Comments Add Comment

प्रदेश-३ सरकारले सौराहाबाट भ्रमण वर्षको शुभारम्भ गर्दै 

१६ पुस, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनबाट प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दैछ । केन्द्र सरकारले आज बुधबार नै भ्रमण वर्षको शुभारम्भको घोषणा गर्दैछ । प्रदेश ३ सरकारले भने पुस १८ गते (डिसेम्वर ३ तारिख)का दिन सौराहामा भब्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष शुभारम्भ गर्ने तयारी गरेको छ । केन्द्रिय राजधानी समेत रहेको प्रदेश ३ को काठमाडौंपछि सबैभन्दा धेरै पर्यटक आउने जिल्लाका रुपमा चितवन पर्दछ ।

प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, भरतपुर विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निशुल्क बसोबास गराउने घोषणा गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निशुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले जानकारी दिए ।

यो पनि पढ्नुहोस निकुञ्जभित्रका होटल बन्द हुँदा चितवनले के पायो, के गुमायो ?

नयाँ वर्षको पहिलो दिन प्रदेश सरकारकै संयोजनमा नयाँ वर्षको स्वागत कार्यक्रम सौराहामा राखिएको छ । बुधबार ४ बजे आयोजना हुने कार्यक्रममा प्रदेश-३ का पर्यटनमन्त्री अरुण नेपालसहितका अन्य मन्त्री र सचिवहरु सहभागी हुनेछन् । सौराहामा साँझ नै स्ट्रिट फेस्टिबल तथा कल्चरल कार्यक्रम गरिँदै छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले हात्ती महोत्सवसँगसँगै स्ट्रिट फेस्टिबल गर्न लागिएको बताए । पुस १० गतेबाट हात्ती महोत्सव चलिरहेको छ । हात्ती महोत्सव र नयाँ वर्षका कारण सौराहामा आन्तरिक पर्यटकहरुले होटलहरू भरिएका छन् । सौराहाका होटलको अकुपेन्सी दर ९० प्रतिशतभन्दा माथि रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यतिबेला आन्तरिक तथा वाह्य पर्यटकले सौराहामा होटलहरुको अग्रिम बुकिङ सुरु गरिरहेका छन् ।

यो पनि पढ्नुहोस फेरि चम्किन चाहेको एउटा पर्यटकीय गन्तव्यको कथा

सौराहामा जारी हात्ती महोत्सव, न्यू इयर र भ्रमण वर्षको सुरूवातसँगसँगै परेकोले पनि पर्यटकको चाप बढेको छ । क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहाका होटलहरुमा सात हजार पर्यटक राख्ने क्षमता रहे पनि अंग्रेजी नयाँ वर्षमा दोब्बर बढी पर्यटकहरु आउने बताए ।

पटिहानीमा बाजागाजासहित भ्रमण वर्षको शुभारम्भ गरिने

जिल्लाको दोस्रो पर्यटकीय गन्तब्यका रुपमा स्थापित पटिहानीमा नेपाल भ्रमण वर्षको शुभारम्भ भब्य तरिकाले गर्ने तयारी भैरहेको छ । पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले जनवरी १ तारिखका दिन एकैपटक तीन सय भन्दा बढि विदेशी पर्यटकहरुलाई पटिहानीमा भब्य स्वागत कार्यक्रम राखिएको जानकारी दिए ।

पञ्चैबाजा, झाँकीसहित वृहत र्‍याली निकालेर भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी भैरहेको अध्यक्ष थपलियाले जानकारी दिए । सबै स्थानीय समुदायलाई शुभारम्भ कार्यक्रमा सहभागी हुन अपिल गरिएको छ । थारु जातिको मौलिक भेषभुषासहित उपस्थित हुन भनिएको छ । पहिलो आउने पर्यटकलाई विषेश सरप्राइज प्याकेज दिने तय भएको भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष बिष्णु महतोले जानकारी दिए ।

पटिहानीलाई सरकारले एक सय पर्यटकीय गन्तब्यमा समेटेको छ । सरकारको लगानीमा बन्दै गरेको अम्ब्रेला स्ट्रिटमा साँझ दीपावलीसहित भब्य कार्यक्रम राखिएको पटिहानी पर्यटन विकास समितिले जनाएको छ । निर्माणाधिन अम्ब्रेला स्ट्रिट दुई साताभित्र तयार भैसक्ने उनले बताए ।

पटिहानीका सबै होटलले भ्रमण वर्षको अवसर पारी २० देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छन् । पटिहानीमा ६ वटा ठूला होटलहरु सञ्चालनमा छन् । ठूला दुई होटल केही दिन भित्रै अप्रेशनमा आउँदैछन् । यहाँ मझौला होटल ६ वटा र साना होटल दुई दर्जनको हाराहारीमा छन् । भ्रमण वर्षमा पटिहानीमा एक लाख पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस चितवनको चिन्ता : सौराहामा किन टिक्दैनन् पर्यटक ?

भ्रमण वर्षलाई नै लक्षित गरी हुलाकी सडकलाई ७ मिटर चौडाई राखी कालोपत्रे गर्ने काम सकिएको छ । भित्री सडकहरु गरी पटिहानीमा १५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पहिटानीका होटलहरुलाई चिनाउने पर्यावरण मैत्री बोर्ड ११ ठाँउमा लगाउने काम अघि बढाइएको छ ।

मेघौलीमा परम्परागत कार्यक्रम

जिल्लाकै अर्को पर्यटकीय गन्तब्यका रुपमा लिइने मेघौलीमा भ्रमण बर्षको स्वागत परम्परागत तरिकाबाट नै गरिने भएको छ ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतोले मेघौलीको चोकमा पर्यटकहरुलाई झाँकीसहित वाजागाजा बजाएर स्वागत गरिने बताए । मेघौलीका सबै पर्यटकीय होटलमा रहेका पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको अध्यक्ष महतोले बताए । ‘खासै त्यस्तो नयाँ कार्यक्रम केही पनि छैन, हामीले पर्यटकलाई गर्ने स्वागत नै हो,’ अध्यक्ष महतोले भने ।

भरतपुर महानगरले बाघको स्तम्भ शिलान्यास गर्ने

भ्रमण वर्षको अवसरमा भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा बाघको स्तम्भ शिलान्यास गर्ने भएको छ ।

नारायणी नदीको पुलबाट करिब एक सय मिटर उत्तरतर्फ २० फिट अग्लो पहाड बनाएर २० फिट अग्लो बाघको मुर्तीसहितको स्तम्भ शिलान्यास गर्ने कार्यक्रम तय भएको महानगरपालिकाले जनाएको छ ।

करिब १ करोड ५० लाख रुपैयाँको लागतमा बनाइने स्तम्भसहितको बाघको मुखबाट पानी नारायणी नदीमा फालेको देखाइने छ ।  कुल लागतका ५० प्रतिशत महानगरपालिका र बाँकी स्थानीय व्यापारी व्यवसायीले लगानी गर्नेछन् । त्यसको संयोजन व्यवसायी दिनेश चुकेले गरेका छन् ।

यो पनि पढ्नुहोस चितवनमा पर्यटक नबढ्नुका ६ कारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment