Comments Add Comment

सय गोल गर्दा पनि खुशी छैनन् सन्तोष

२३ पुस, काठमाडौं । नेपाली फुटबलको उच्च श्रेणको लिग हो शहीद स्मारक ए डिभिजन लिग । अनि यसमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् सन्तोष साहुखल । उनै सन्तोषले बिहीबार नयाँ कीर्तिमान बनाए, लिगमा १०० गोल ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा च्यासल युथ क्लबबाट सन्तोषले दुई गोल गरे । लिगमा उनको त्यो १०० औं र १०१ औं गोल थियो ।

सन्तोषले कीर्तिमान बनाए तर च्यासलले खेल जित्न सकेन । नेपाल पुलिस क्लबसँग च्यासल दुई पटक पछाडि गर्दा उनै सन्तोषले बराबरी गोल गरे । सन्तोषको दुई गोलमा च्यासलले पुलिससँग २–२ को बराबरी खेल्द अंक खोस्न सफल भयो ।

यो भयो खेलको कथा ।

सन्तोषको कथा फरक छ । वि.सं. २०६० साल उनले ए डिभिजन लिगमा डेब्यू गरेका थिए । पहिलो क्लब थियो थ्रीस्टार । उनको डेब्यु गोल शंकटा क्लबविरुद्ध थियो । तर त्यो खेलमा थ्री स्टार ३-२ गोल अन्तरले पराजित भएको थियो । त्यसको १६ वर्षपछि सन्तोषले पुलिसविरुद्ध गोल गर्दै १००औं गोलको कीर्तिमान बनाए । तर यस पटक पनि उनको टोलीले खेल जित्न सकेन ।

त्यसैले घरेलु फुटबलमा कोशेढुंगा कायम गर्दा पनि सन्तोषलाई खासै छुन सकेको छैन । ‘सय गोल पुर्‍याउनुभन्दा पनि टिमलाई कसरी जिताउने, कसरी माथि पुर्‍याउने भन्ने थियो’ सन्तोष भन्छन्, ‘त्यसैले सय गोल गर्दा सामान्य अनुभव भयो ।’

‘सय गोल भएको छ, यसले नयाँ खेलाडीलाई मोटिभेट गर्नसक्छ । उनीहरुले पनि सय गोल गर्दै यो कीर्तिमान ब्रेक गरोस् भन्ने छ,’ यस सिजन पाच खेलमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि रहेका सन्तोषले भने ।

हाल जापानमा बसेर काम गर्दै फुटबल खेलिरहेका सन्तोष छुट्टीको समय मिलाएर नेपाल आएका हुन् । उनले यस सिजन शुरुको दुई खेलमा ३ खेल गोल गर्दै ९९ गोल पु‍र्‍याएका थिए । त्यसपछिका दुई खेलमा गोल गर्न सकेनन् र च्यासल दुवै खेलमा पराजित भयो । बुधबार उनले दुई गोल गर्दा पनि टिम जितेन । ९० मिनटको हुसिलको बजेपछि कस्तो भयो भन्न प्रश्नमा उनले साधारण जवाफ दिए । ‘जित्नुपर्ने थियो, जितेन भन्ने लाग्यो’ उनले भने ।

सन्तोष धेरै उत्साहित नभए पनि च्यासलका प्रशिक्षक तथा सन्तोषकै दाइ बालगोपाल साहुखलले भने यसलाई ठूलो उपलब्धी मानेका छन् । ‘भाइले राम्रो गर्दा सधैं प्राउड फिल हुन्छ’ प्रशिक्षक बालगोपालले भने, ‘आज यसको सय गोल पूरा गरेको छ । भाइलाई केही नभएपनि हामीलाई खुशी लागेको छ ।’

नेपाली लिगमा यो कोशेढुंगा भएको र यसलाई तोड्न गाह्रो हुने उनले सुनाए । नेपालमा खासै राम्रो स्ट्राइकरहरु देखिएका छैनन् । त्यसैले यो गाह्रो छ’ उनले सुनाए ।

उनको टिम मात्र होइन, विपक्षी टिम पुलिसका प्रशिक्षक अनन्त थापाले पनि सन्तोषलाई बधाई दिए । तर सन्तोषकै लकका कारण आफ्नो टिमले अंक गुमाउनु परेको भन्दै उनले भने, ‘दुई खेलमा गोल भएन, हामीविरुद्ध नै गोल गर्ने भनेर लेखिएको रहेछ ।’

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment