२३ पुस, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरिदै आएको कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीको मोबाइल एपलिकेशनमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमा वृद्धि भएको छ । प्रतिमहिना एक लाख रुपैयाँ रहेको अधिकतम कारोबार सीमा बढाएर दुई लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत पुस २१ गतेबाट लागू हुने गरी मोबाईल एप्सको कारोबार सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरेको हो । साथै, प्रतिकारोबार सीमा ५० हजार रुपैयाँनै कायम रहेको छ ।
त्यस्तै, कनेक्टआईपीएसको वेबसाइटबाट गरिने कारोबारको सीमा प्रतिकारोबार १० लाख रुपैयाँ र प्रतिबैंक मासिक ५० लाख रुपैयाँ यथावत नै रहेको कम्पनीले जनाएको छ ।
थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ ।
कनेक्टआईपीएस ई-पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।
उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया 4