५ माघ, बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
यसअघि गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएपछि यहाँको संसद् ‘विजनेस’विहीन अवस्थामा गुज्रिएको थियो ।
आइतबार आह्वान गरिएको हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । संसद्मा प्रस्तुत हुने एजेन्डाबारे भने कार्यपरामर्श समितिले निर्णय गर्ने उनले बताए ।
पाउला प्रदेशले नाम र राजधानी ?
देशका ७ प्रदेशमध्ये ४ वटाले नाम र राजधानी टुंगो लगाइसकेका छन् । तर प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन ।
हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । ‘प्रदेश ५ को नाम र स्थायी राजधानीको विषय संसदको आजबाट सुरु हुने हिउँदे अधिवेशनले टुंगो लगाउने छ,’ मन्त्री चौधरीले भने ।
नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि हिउँदे अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने बताउँछन् । उनले प्रदेशसभा नै यसको निर्णायक केन्द्र भएको भन्दै सबैको सहमतिबाट यसबारे निर्णय हुने जानकारी दिए ।
हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामले प्रवेश पाउने भएपछि यसबारे बहस सुरु भएको छ । नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पूर्वाधार बनिसकेको क्षेत्रलाई राजधानी बनाउनु पर्ने बताइन् ।
प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १÷१ गरी कुल ८७ सांसद् छन् ।
६ वटा विधेयक पेस गर्ने तयारी
सरकारले आजबाट सुरु हुने हिउँदे अधिवेशनमा ६ वटा विधेयक पठाउने तयारी गरेको प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । उनका अनुसार, हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तहसम्बन्धी विधेयक पेस हुनेछ । त्यस्तै, विश्वविद्यालय, लोक सेवा, चलचित्रसम्बन्धी विधेयक पनि यही अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।
संघीय सरकारका कारण कानुन निर्माण हुन नसकेकाले अब भने बाजिएको हकमा संशोधन गर्ने गरी कानून निर्माणलाई तीव्रता दिइने मन्त्री चौधरीले बताए ।
प्रदेशसभाले चौथौ अधिवेशनसम्म ४९ वटा विधेयक पारित गरेको छ । पारित भएकामा लोकसेवासँग सम्बन्धित विधेयकलगायत छन् ।