
८ माघ, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुष तर्फ सेनाको टिएसी र सशस्त्रको एपीएफ क्लब बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै अर्को सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् कलब बीच प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा टिएसीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । यस्तै अर्को विभागीय टोली एपीएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्दै टिएसीसँगको भेट पक्का गरेको हो ।
यस्तै जित निकालेर सेमिफाइनल प्रवेश गर्ने क्रममा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पराजित गर्यो । अब सेमिफाइनलमा पुलिसको भेट हेल्प नेपाल स्पोर्टस् क्लबसँग हुने भएको छ ।
हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पन्छायो ।
प्रतियोगिताको सेमिफाइनल बिहीबार हुने भएको छ । पहिलो खेल पुरुष तर्फ सेनाको टिएसी र एपीएफ बिहान ९:३० बजे तथा दोश्रो खेल नेपाल पुलिस क्लब र हेल्प नेपाल बीच ११:३० बजे हुने छ । यस्तै महिला तर्फको पहिलो खेल एपीएफ र नेपाल पुलिसका बीच १ बजे र दोश्रो खेल होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लब र सेनाको टिएसी बीच ३ बजे हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया 4