+
+

सीमा सुरक्षालाई मजबुत बनाएका छौं : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १३:०४

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाइएको बताएका छन् । देशको सीमानाको रक्षार्थ तराइदेखि हिमालसम्म सीमा सुरक्षालाई बलियो पारिएको उनले बताएका हुन् ।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै आईजीपी खनालले भने, ‘सीमानामा गण, गुल्म र बीओपीका माध्यमबाट सीमा सुरक्षालाई मजबुत र व्यवस्थित बनाउँदै सबै सुरक्षा र स्थानीय निकायको समन्वय र सहकार्यमा हामीले पाएको उत्तरदायित्व र जिम्मेवारीलाई पूरा गर्दै आएको छौं ।’

उनले कार्यादेशअनुसार संगठनले आधुनिक प्रविधिको प्रयोग गरी सुरक्षालाई आधुनिकीकरण एवं विशिष्टिकरण गर्दै अगाडि बढाइरहेको पनि बताए । खनालले थपे, ‘अझ यसलाई दीर्घकालीन रुपमा बलियो बनाउन सांगठनिक संरचना परिवर्तन गरी हिजोको आवश्यकतालाई हेरेर गृह मन्त्रालयको पहलमा ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको पहुँच पुर्‍याइएको छ ।’

खनालले आफ्नो कार्यकालको पौने दुई वर्षे अवधिमा ५६ वटा नीति निर्देशिका, कार्यविधि र ६५ वटा तालिम पाठ्यक्रम बनाएर तालिम शिक्षालयका साथै प्रधान कार्यालय, बाहिनी गण, गुल्म र बीओपीका माध्यमबाट नीति कार्यान्वयनलाई अघि बढाइएको बताए ।

‘जस्तुसुकै परिस्थितिमा पनि जे गर्न पनि तयार रहनु हाम्रो मौलिक दायित्वभित्र पर्दछ’, उनले भने, ‘अझै पनि संगठनका विविध पक्षमा सुधारका खाँचो हामी सबैले महसुस गरेका छौं, हाम्रा प्रक्रिया, प्रणाली र पद्धतिमा ठूलो परिवर्तनको खाँचो छ ।’

खनालले थपे, ‘गलत विचार र संगठनको हित विपरीतका प्रक्रियामा जहिलेसम्म सुधार गर्न सकिन्न, संगठनलाई बलियो बनाउन र राम्रो संस्कार बसाउन र बलियो वर्क कल्चरको जर्गेना गर्न सकिँदैन ।’ त्यसैले गलत मानसिकता र प्रवृत्तिलाई भत्काउनका लागि सम्पूर्ण राष्ट्रसेवकमा सकरात्मक सोच र सम्पूर्ण कार्यशैलीमा परिवर्तन गराई असल र दीर्घकालीन सोच राख्नु आफ्नो लक्ष्य रहेको उनले बताए ।

‘हाम्रो सानो गल्ती र कमजोरीले जनतामा नकारात्मक प्रभाव पर्ने मात्र होइन, संगठन र राष्ट्रलाई समेत ठूलो हानी पुर्‍याउँछ’, उनले भने, ‘यसर्थ संगठनलाई शिरमा राखी राष्ट्रले चाहेको र जनआकांक्षा अनुरुपको सुरक्षाका साथ योगदान दिन सक्यौं भने मात्र उत्तरार्धतिर जाँदै गरेका संगठनका नेतृत्वकर्ताहरुले संगठनको भविष्य तयार गर्ने गर्‍यौं भनेर गर्व गर्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?