Comments Add Comment

प्रदेश १ को गौरवको आयोजनामा विजुली पोल र पाइपको अवरोध

निर्माण कम्पनी भन्छ – काम गर्न पाइएन

८ फागुन, विराटनगर । प्रदेश १ सरकारको पहिलो गौरवको आयोजना विराटचोक–घिनाघाट सडकमा विजुलीका पोल नहट्दा निर्माणमा अवरोध भएको छ ।

२० किलोमिटर सडक दुई वर्षभित्र चार लेनको बनाउने गरी निर्माण सुरु भएको पाँच महिनासम्म बिजुलीको पोल, खानपानीको पाइप र रुख हटाइएको छैन ।

पूर्वाधार विकास कार्यालयले सडकमा पर्ने बिजुलीका पोल स्थानान्तरण गर्न ठेक्का लगाउने र खानेपानीका पाइप हटाउन स्थानीयसंग समन्वयको काम गरेको छैन ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा दुई वटा प्याकेजमा श्रेष्ठ निर्माण कम्पनी र श्रेष्ठ रमण एपेक्स जेवीले गएको असोज महिनाबाट काम गरिरहेका छन् । तर काम गर्न सडक क्षेत्र खाली नभएकाले अन्योल भएको निर्माण कम्पनीले बताएका छन् ।

यत्तिकै काम अघि बढाएमा पछि विजुली पोल र खानेपानी पाइप हटाएपछि दोहोर्‍याएर काम गर्नुपर्ने भन्दै निर्माण कम्पनीले काम गरेका छैनन् ।

सडकमा पर्ने रुख पनि नहटाउँदा विस्तारको काम अघि बढ्न नसकेको श्रेष्ठ निर्माण कम्पनीका इन्जिनियर आकाश ढकालले बताए ।

‘सडक चारलेनमा विस्तार गर्ने काम शुरु भएको पाँच महिना पुग्यो’ इन्जिनियर ढकालले भने ‘सडक क्लियर गर्ने कुरा अहिलसम्म पूरा भएको छैन, हामीलाई काम गर्न समस्या छ ।’

इन्जिनियर ढकालका अनुसार नेताचोकदेखि विराटचोकसम्मको १० किलोमिटर सडकमा ३ सय ८ वटा बिजुलीको पोल स्थानान्तरण गर्नुपर्नेछ । त्यसैगरी २१ वटा टेलिकमको पोल हटाउनुपर्नेछ । स्थानीय खानेपानी आयोजनाको पाइप पनि धेरै स्थानमा पर्नेछन् ।

नेताचोकदेखि घिनाघाटसम्मको १० किलोमिटर क्षेत्रमा पनि २ सय १८ वटा बिजुलीको पोल, तेतरिया, पिरानमुनी, झोडाहाट र मिलनचौक क्षेत्रमा खानेपानीको पाइपको समस्या छ ।

त्यसैगरी ३ सय १६ वटा रुख कटान गर्नुपर्ने श्रेष्ठ रमन एपेक्स जेवीका इन्जिनियर अभि पोखरेलले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले सडक क्षेत्रमा पर्ने बिजुलीको पोल, खानेपानीको पाइप र रुख हटाउने प्रक्रिया सुरु भएको बताए ।

उनले बिजुलीको पोल हटाउन विद्युत प्राधिकरणसंगको समन्वयमा ४ करोड २३ लाख रुपैयाँको स्टिमेट तयार पारी ठेक्का लगाउने तयारी भएको जानकारी दिए ।

खानेपानीका पाइप हटाउन पनि स्थानीय वासिन्दा र खानेपानी आयोजनासँग कुराकानी भइरहेको बताए ।

सडक क्षेत्रका रुख हटाउन वन मन्त्रालयबाट स्वीकृति लिइसकेकाले डेढ महिनाभित्र सबै काम सकिने बताए ।

३५ प्रतिशत काम पूरा

हालसम्म यस आयोजनाको ३५ प्रतिशत काम सकिएको छ । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले सडकको सबग्रेटको काम जारी रहेको र आगामी वैशाख महिनाभित्र सकिने बताए ।

बर्षायाम सुरु हुनुअघि नै सबबेसको काम सक्ने र वर्षायाम सकिएपछि कालोपत्रे अघि बढाउने उनको भनाइ छ ।

विराटनगर भित्रिने तथा बाहिरिने वैकल्पिक सडकको रूपमा रहेको विराटचोक–घिनाघाट सडकलाई विराटनगर प्रवेश गर्ने कोसी राजमार्गको विकल्पको रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment