Comments Add Comment

उद्योगीको चुनाव :  सौरभविरुद्ध संघाई, उमेशविरुद्ध अञ्जन

४ चैत, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको आगामी २८ र २९ गते हुने महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । अध्यक्ष स्वतः बने पनि अन्य पदहरुमा भने कडा चुनावी प्रतिस्पर्धा हुँदैछ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि वहालवाला उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रँदैछन् । उनीहरु औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भोट माग्नमा व्यस्त देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा मात्रै नभई उपाध्यक्ष पदमा समेत कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासंघमा एशोसिएट, वस्तुगत र जिल्ला नगर गरी ३ उपाध्यक्ष पद छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका ढकाल एशोसिएट उपाध्यक्ष हुन् भने अर्का उम्मेद्वार प्रधान जिल्लानगरतर्फका उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षमा ढकाल समूहलाई समर्थन गर्ने घोषणा गरेका उमेशलाल श्रेष्ठ भने वस्तुगत उपाध्यक्ष हुन् । गत निर्वाचनमा एशोसिएट उपाध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका थिए । उम्मेद्वारी घोषणा गरेर पनि पछि हटेका सौरभ ज्योतिका कारण ढकाल सर्वसम्मत उपाध्यक्ष चयन भए ।

यसपटक भने एशोसिएट उपाध्यक्षका लागि सौरभले उम्मेद्वारी घोषणा गरेका छन् । उनले अघिल्लो निर्वाचनमा जस्तो कसैका लागि उम्मेद्वारी फिर्ता नलिने बताएका छन् ।

उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका ज्योति पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन् । उनी अटो व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल डिलर्स एशोसिएनसका अध्यक्ष भइसकेका व्यक्ति हुन् । हाल राजश्व समितिका सभापति रहेका सौरभले ४ कार्यकाल महासंघमा बिताएका छन् ।

ज्योतिले आफू सर्वसम्मत उपाध्यक्ष हुन सक्ने सम्भावना रहेको दाबी गरेका थिए । तर, सर्वसम्मत नभई उनले चुनावी प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एशोसिएट उपाध्यक्षमै रामचन्द्र संघाइले उम्मेद्वारी दिने भएका छन् ।

महासंघमा आवद्ध पुराना व्यवसायीका रुपमा चिनिने संघाईंको सिमेन्ट उद्योग, बैंक तथा वित्तीय क्षेत्र, फिल्म हल, ग्यास उद्योग लगायतमा लगानी रहेको छ । निर्यातजन्य उद्योगमा पनि राम्रै लगानी गरेका उनलाई केहि समय अघि सरकारले सीआईपी सम्मान समेत गरेको थियो ।

रविभक्त श्रेष्ठ अध्यक्ष हुँदा कार्यसमिति सदस्यमा निर्वाचित भएका उनी महासंघको रोजगारदाता परिषदका उपसभापतिसमेत भइसकेका व्यक्ति हुन् । उनले महासंघमै ४ कार्यकाल बिताइसकेका छन् ।

उता वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले यसपटक पनि दोहोरिने इच्छा व्यक्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरेका उनी ढकाललाई सघाउन उपाध्यक्षमै दोहोरिने भएका हुन् ।

तर, उनको विरुद्ध अन्जन श्रेष्ठले उम्मेद्वारी दिने भएका छन् । अहिले अटो व्यवसायमा रहेका श्रेष्ठ २०६८ सालमा महासंघको सदस्यमा निर्वाचित भएका थिए । उनी महासंघको रोजगारदाता परिषदको सदस्य तथा राजस्व समितिका सहसभापति समेत बनिसकेका छन् ।

यी चारजनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कसले चुनाव जित्छन् भनेर अहिले नै आकलन गर्न समेत मुश्किल छ । उता बाँकी अर्को जिल्ला नगर उपाध्यक्षमा भने ढकाल समूहबाट गुणनिधि तिवारी उठ्ने भएका छन् । प्रदेश ५ को अध्यक्ष रहेका उनी चन्द्र ढकाल समूहका विस्वास पात्र हुन् ।

प्रधान समूहले भने अहिले प्रदेश ३ को अध्यक्ष रहेका दिनेश श्रेष्ठलाई जिल्लानगर उपाध्यक्ष उठाउने तयारी गरेको छ । यद्यपि, उनको नाम अन्तिम टुंगो लाग्न भने बाँकी रहेको प्रधान समूहका एक उद्योगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment