‘कृपया हाँस ! तिमीहरू दिल फुकाएर हाँस ।’
‘तिमीहरूको हाँसोको नै कदर हुन्छ यहाँ ।’
‘हाँस्दैनौ ?
त्यसो भए मुटु निचोरेर रोऊ । तिमीहरू रूनुको यहाँ अर्थ हुन्छ ।’
‘रूँदैनौ ?’
‘त्यसो भए गाला फुलाएर रिसाऊ । तिमीहरू रिसाउनुको यहाँ संकेत हुन्छ ।’
…. …. …
‘उफ् ! तिमीहरू न हाँस्छौ, न रून्छौ, न रिसाउँछौ ! यति अफ्ठेरोमा पनि कुनै प्रतिक्रिया छैन । के सहिद हुनु भनेको सबैसबै थोक त्यागेर जानु हो ?’
०००
एउटा पागल थियो । (उसलाई तपाईं जे मान्नुभए पनि हुन्छ । तपाईंलाई ५० प्रतिशत छुट छ । बाँकी जति मूल्य चुकाउनु पर्ने हो स्वतः कुनै क्षणमा चुक्ता होला । मैले अधिकांशको मतलाई साभार गर्दै उसलाई पागल भनेँ ।)
घरको एक कुनामा नाटकीय ढंगले बर्बराइरहेको थियो ऊ । त्यो कुना खोज्दै जानुभयो भने तपाईंले साँघुरो पाउनुहुनेछ । त्यहाँ केवल ऊ, टाउको र गोडामात्र अड्याउन मिल्ने पुरानो खाट, ढुसी परेको डसना, उद्रिएको सिरक, अह्ररिएका सिरानी र भित्तामा छरपस्ट केही थान पुस्तकमात्र अटाएका थिए ।
बुझ्नुभयो होला– सहरको एउटा गल्लीमा रङ खुइलिएको पुरानो घर छ । घरको सबैभन्दा सानो कोठा उसैको डेरा थियो । अँ, डेरामा अटाएका केही तस्विरहरू थिए । जुन भित्ताका किलामा निर्मम झुण्ड्याइएका हुन्थे ।
(माफ गर्नुहोला ! कुनै आख्यानको पात्रबारे मैले वर्णन गरिरहेको छैन । तपाईं रिसाउन पाउनुहुन्छ । सुन्ने धैर्य नभए मलाई रोक्नुहोला । सम्झनाका टाटाहरू मात्र छन् मसंग । धेरैजसो उप्किए । बाँकी जति छन्, त्यसको मात्र वर्णन गर्छु । त्यसैले यो तपाईंको लागि रिस उठ्ने विषय बन्न सक्ला !)
ती तस्वीर कसका हुन् ? म भन्न सक्दिनँ । कृपया तपाईं आफैं पत्ता लगाउनुहोला । त्यसबाहेक उसको कोठामा खाना पकाउने ग्यास चुलो र केही भाँडाकुँडा अटाएका थिए ।
–‘यो साँघुरो समाजमा मेरो विचार त अट्न सकेन । तिमीहरूको महानता कसरी अट्थ्यो र !’ एकदिन तस्वीरतर्फ फर्किएर जोडले कराइरहेको थियो ऊ ।
मलाई अनौठो लागेको कुराचाहिँ उसले समाजलाई आफ्नै कोठाजस्तो साँघुरो देखेछ । अनि विचार भनेको के हो ? त्यो त्यस्तो ठूलो हुन्छ ? कतै पनि नअट्ने ?
उसका नबुझिने कुराहरू कसरी बुझ्थे होलान् र झुण्डिएका तस्बिरहरूले ? सुरूमा फाँसीमा झुन्ड्याइएको जस्तो देखिने ती तस्बिर खासमा उसले किलामा प्रेमपूर्वक झुण्ड्याएर राखेको रै’छ ।
त्यो दिन ऊ, उनीहरूसँग खुब एकोहोरो बोलिरहेको थियो । सुँक्सुँकाइरहेको थियो बेलाबेलामा । हाँसिरहेको थियो । अनि कहिले चुपचाप बसेको थियो ।
– ‘कवि भूपिले भनेका थिए– बन्दैन मुलुक दुईचार सपूत मरेर नगए । उनले भनेजस्तै मर्नेहरू मर्दै गए, तिमीहरू जसरी । हामी जसरी । तर, मुलुक बन्यो त !’
उसले आफ्नो हात चिउँडोमा लग्यो । चिउँडोमा हात राखेर पक्कै ऊ केही सोचिरहेको थियो । अनि थप बोल्दै गयो– ‘हामी बेबकुफ भयौं । हामीसँग आशा रित्तो भयो । यी हेर त, मेरो साँघुरो कोठा पनि रित्तो छ । भात खाने चामल छैन । ग्यास छैन । किनकि मेरो खल्तीहरू रित्तो छन् । खल्ती त उनीहरूको भरिएछ । जसले हामीलाई रित्तो बनाए । हामीलाई झुक्याए । कम्युनिस्ट भनेर आफूलाई गलत प्रचार गरे । र अहिले कमाउनिष्ट भए । हामी बेबकुफ भयौं ।’
– ‘मैले किताब पढें । अझै पढ्छु । तर, मैले पढिरहेको किताबसँग उनीहरू सहमत छैनन् । नत्र किन त्यो जमातमा म एक्लिएँ । म भीडबाट फिल्टर भएँ । के पढ्नु मेरो गल्ती थियो ।’
अहिले सम्झेँ । उसको कोठामा कुनामा माक्र्स, एंगेल्सका मेनिफेस्टो, पुँजीदेखि कविता, कथा र चैतन्य मिश्रका पुस्तकसम्म छरिएका थिए । अरू पनि थुप्रै थिए । ऊ हरेक दिन रातभरि किताब पढ्थ्यो । आधा रातमा कालो चिया र पाउरोटी खान्थ्यो ।
– ‘तिमीहरू हिजो बोलेकै कारण फाँसीमा झुण्डियौ । यतिबेला केही बोल्न सक्दैनौ । र त्यही भएर ती शासकले दरबार र कोठाका भित्ताहरूमा तिमीहरूलाई सजाएका छन् । तिमीहरूले जस्तै अहिले हामी बोल्यौं । हामीलाई दबाउन खोजिरहेछन् उनीहरू । के सहिदको सम्मान खलनायक जस्ता शासकले कोठामा सजाएर राखेर हुन्छ ?’
ऊ निकै चिन्तित भएर बोलिरहेको थियो त्यो दिन । मानौं, हजारौं वर्षको चिन्ताको पहाड उसको टाउकोमा बज्रिएको छ । ऊ त्यसलाई थेग्ने असफल प्रयासमा छ । ऊ बारबार प्रश्न गरिरहेजस्तै लाग्थ्यो । अनि निराश भएर शिथिल देखिन्थ्यो ।
उसले छरिएको किताबतर्फ आफ्नो नजर अड्कायो । त्यहाँ एउटा डायरी थियो । त्यो यही डायरी हो । त्यहाँ उसले खै के–के लेखिरहन्थ्यो । त्यो दिन पनि उसले लेख्न बस्यो । के लेख्यो यही डायरी पढ्नुस्–
…र मैले आजबाट संगठन छाडेँ । राजनीति गर्नु मेरो कुनै सौख थिएन र छैन पनि । परिवर्तन ल्याउन एउटा इँटा बनुँला भनेर लागेको थिएँ । भ्रम रहेछ । मैले हारेँ । आज परिवर्तनको नारा घन्काउनेहरूबाटै लखेटिएँ । म संगठनमा कसैको हनुमान बन्न लागेको थिइनँ । तर, हनुमान बन्नेहरूबाट जोगिन सकिनँ । भागेँ, भागेर आएँ । अब भागेर कहाँ जाऊँ ? घरबाट भागेर उहिल्यै हिँडे । जहाँ मेरा खुसीहरू थिए । त्यहाँ फेरि कसरी म जाऔं ? पढ्दै गरेको स्कुलबाट भागेँ । त्यहाँ हुर्कंदै गरेका सपना थिए । आफ्ना रहर, चाहनाबाट भागेँ । खैर, भागेर जुन बाटोमा आएँ, त्यो बाटोमा हिँड्नेहरू सबैभन्दा खतरनाक रहेछन् । त्यहाँबाट भागेँ । अब कहाँ जाऊँ ?
यतिबेला मैले निर्णय लिनैपर्छ । अन्तिम निर्णय ! मेरो भोको पेटको कसम मैले सत्यको गोरेटो हुँदै समाजमा खुसीको राजमार्ग पकड्नै पर्छ । म अब भागेर हैन, लडेर जित्नुपर्छ । उठें, म लड्नका लागि उठें ! उठें !! उठें !!!
०००
त्यसपछि ऊ त्यो कोठामा देखा परेन । डायरी पनि त्यहीँ छाडेको रहेछ । मैले लिएर आएको छु । म उसको को भनेर सोच्नुभयो होला हैन ?
म उसैको कोठा नजिकैको अर्को डेरामा बस्ने साधारण व्यक्ति हुँ । मलाई उसको स्वभाव विचित्र लाग्थ्यो । विचित्रमात्र होइन, अनौठो लाग्थ्यो र चियोचर्चो गरिरहन्थेँ । उसको पिछा गर्थेँ । अहिले म उसैको कोठा, उसको स्वभाव र मैले देख्दाका उसको चरित्र बयान दिइरहेको छु ।
त्यसदिन म झ्यालबाट उसले नदेख्ने गरी चियाएर उसैलाई हेरिरहेको थिएँ ।
मलाई उसले बेलाबेलामा सहयोग पनि गरेको थियो । म एउटा होटलमा वेटरको काम गर्थें । एकदिन बिरामी परेर काममा जान सकिनँ । उसले मलाई अस्पताल लग्यो । त्यो गुन कहाँ बिर्सनु मैले । त्यतिमात्र हैन, त्यो होटलमा काम धेरै असजिलो थियो । उसले चिनेको अर्को होटलमा काम मिलाइदियो । अलिअलि पढ्न जानेको थिएँ । उसले मलाई उपन्यास पढ्न सिकायो । केही किताब पढेँ पनि । अलिअलि लेख्न नि थालेँ । तर, मैले जान्न धेरै बाँकी छ ।
ऊ त्यो कोठामा नआएको एक वर्ष भयो । जाने बेलामा रोक्नुपर्थ्यो । तर, ऊ फर्कन्न भन्ने के थाहा ? जम्माजम्मी सात–आठ पटक त भेट भएको थियो मेरो ऊसँग । धेरै भेट्न पाएको भए त घरपरिवार, गाउँबारे सोध्थेँ ।
मैले उसको अन्तिम महिनाको भाडा आफैंले बुझाएँ । कोठाको ताला घरबेटीले फोडे । घरबेटीलाई भनेर उसको किताब, डायरी र भित्ताका तस्विरहरू मेरो कोठामा ल्याएँ । उसको पहिलाको नम्बरमा फोन अफ भन्छ । लाग्दै लाग्दैन । हिँजो यहाँबाट मलाई सरले फोन गर्नुभयो । तपाईंहरू र विद्रोहीबीच मुठभेड भएर कोको मारिए भन्ने पनि सुन्छु । डर लाग्छ, कतै उही पो हो कि । नाम पनि उसले बताएको थिएन मलाई । सोध्न भुलेछु, न उसले नै मेरो सोध्यो । मलाई दाइ भन्थ्यो । म भाइजी मात्र भन्थेँ ।
‘मैले ढाँटेको हैन सर । वरपरका कोठाका मान्छे सबैले पागल भनेर भन्थे । सायद एक्लै बर्बराउने बानी भएर होला । कसैले बुझ्दैनन् । बरू मैले जति बुझेँ, असल बुझेँ उसलाई । असल मान्छे पागल हुन्छन् भन्ने बुझेर मैले नि पागल भनेको हुँ उसलाई ।’
सर, तपाईंहरूले मलाई यहाँ किन बोलाउनुभयो थाहा छैन । पक्कै उसलाई यहाँ थुनेको हुनुपर्छ । यदि उसलाई थुनेको भए पनि उसको गल्ती छैन । ऊ निर्दोष छ ।’
प्रहरी कार्यालयमा उसको बारे यति बोलेपछि मेरो कुरा सकियो । मैले जानेको यति नै थियो । सबै साँचो भनेको हुँ ।
अन्तिममा, एउटा कुराचाहिँ म अहिले पनि सम्झिरहन्छु । उसले एक्लै बर्बराउँदा आफ्नो विचारलाई समाजले त अटाउन सकेन भन्थ्यो । आज उसले छाडेका किताब पढेपछि मलाई यही कुराले दिमाग रन्थनिरहेको छ । म पनि आफ्नो अस्तित्वको धरातल सोच्दैछु । आफ्नो मूल्य सोच्न प्रतिबद्ध हुँदैछु ।
यदि, उसलाई तपाईं–हामीले नै थुनेको भए, उसको विचार कहाँ अटाएको छ त ? कृपया, कसैलाई थाहा छ भने मलाई भनिदिनुस् न !
(तर, वरिपरि केवल सन्नाटामात्र व्याप्त थियो ।)