Comments Add Comment

भारतमा लकडाउनले पुगेन, अब कर्फ्यू

११ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस सङ्क्रमणको प्रभाव निरन्तर बढ्दो छ । हालसम्मको आँकडामा सङ्क्रमितको सङ्ख्या ४५० नाघेको छ । सङ्क्रमण नियन्त्रणको प्रयासमा सम्बन्धित राज्य सरकारहरूले थप कदम चालेका छन् ।

सोमबार, पञ्जाब राज्य सरकारले राज्यभरि नै कर्फ्यू घोषणा गरेको थियो ।

केन्द्र शासित चण्डीगढमा पनि सोमबार मध्यरातदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू आदेश जारी भएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले पनि सोमबार मध्यरातदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका छन् ।

पोन्डिचेरीको केन्द्र शासित क्षेत्रमा सोमबार राति नौ बजेदेखि मार्च महिनाभरिसम्मका लागि कर्फ्यू लागेको छ । हरियाणा र हिमाचल प्रदेशमा पनि कर्फ्यू आदेश जारी भएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टि्वट मार्फत् राज्य सरकारहरूलाई लकडाउन अवधिमा यसका सबै नियमहरूको पूर्णपालना भएको सुनिश्चित गर्नका लागि आहृवान गरेका थिए । धेरै मानिसहरूले लकडाउनलाई गम्भीर रूपमा नलिएको बताउँदै केन्द्र सरकारले त्यस्ता मानिसहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन राज्य सरकारहरूलाई मोदीले निर्देशन दिएका थिए ।

सोमबारदेखि तमिलनाडु, कर्नाटक, गुजरात, आसाम र मणिपुरमा पनि लकडाउन सुरु भएको छ । आन्ध्रप्रदेश, तेलङ्गना, पञ्जाब, उत्तराखण्ड, झारखण्ड, जम्मुकाश्मिर, चण्डीगढ, राजस्थान, अरुणाचल, नागाल्यान्ड र मिजोरममा आइतबारदेखि नै लकडाउनको अवस्था छ ।

भारतीय केन्द्र सरकारका अनुसार ३० राज्य वा केन्द्र शासित क्षेत्रहरूमा पूर्ण लकडाउनको अवस्था छ । त्यहाँका पाँच सय ४८ जिल्लामा मानव आवागमनमा कडा नियन्त्रण सुरु गरिएको छ । अन्य तीन राज्यमा ५८ जिल्ला समेटिने गरी आँशिक लकडाउन जारी छ ।

सोमबार रातिदेखि भारतमा यात्रुवाहक आन्तरिक उडानहरू बन्द गरिँदैछन् ।

नयाँ दिल्लीको अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) ले बहिरङ्ग सेवा बन्द गरेको छ । नयाँ बिरामीको दर्ता तथा पुरानो बिरामीको फलोअप मात्र नभई विशेषज्ञ सेवा समेत बन्द गरी कोरोना भाइरसका बिरामीमा ध्यान केन्द्रित गरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment