+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लुकी लुकी रारालाई चियाउँदा (फोटो फिचर)

सन्तोष बस्याल सन्तोष बस्याल
२०७६ चैत १५ गते १३:०५

सानो हुँदा सरले एउटा कथा सुनाउँथे, डुम्री फलको । मेरो जन्मथलो स्याङ्जातिर पाइने फल हो, यो । उक्त फलभित्रको किरा ‘संसार नै यही हो’ भने जसरी घुम्छ रे । डुम्री पाक्छ । पाकेपछि बोटबाट भुइँमा खस्छ । खसेर फुट्छ । त्यसपछि डुम्री भित्रको किराले भन्छ, ‘अहो ! संसार त कति ठूलो ?’ किरा आत्तिएर मर्छ ।

सानो छँदा मलाई यस्तै लाग्थ्यो । आफू जन्मे, हुर्केको सेरोफेरो नै संसार हो । तर, खुट्टा लाग्ने भएपछि मैले घरको संघारसँग दुरी बढाएँ । घुम्नका लागि टाढा–टाढा निस्किएँ । यसपछि म निश्चित भएँ, ‘संसार मेरो साना आँखाले देखिने परिधिभित्र मात्र सीमित रहेनछ ।’

एक हिसाबले भन्ने हो भने म घुमन्ते नै हुँ । अस्पतालको दौडधुप र थकान मेट्नका लागि घुमफिर मेरो लागि ‘ओखती’ जस्तै हो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ स्वाद । घुम्नुको मज्जा त कहाँ बयान गरेर साध्य हुन्छ र ?

जब–जब घुम्ने कुरा मनमा आउँछ, मन बेग्लै रोमाञ्चकताले हराभरा हुन्छ ।

यसपाली दश दिने बिदा । घुम्नका लागि योजना बनाइयो । गन्तव्य, रारा । साधन, मोटरसाइकल । अझ अफरोडका लागि उपयोगी हिमालयन रोयल इन्फिल्ड ।

यात्रा सुरु गरियो, काठमाडौंबाट । बुटवल, कोहलपुरहुँदै अगाडि बढियो । तेस्रो दिनमा सुर्खेत, दैलेखहुँदै कालिकोट उक्लिएँ । जति–जति यात्रा लम्बिँदै जान्छ, त्यति नै नयाँ दृश्यहरु साक्षात्कार गरिन्छ । कर्णालीको सौन्दर्य, महिलाहरुको श्रृंगार फेरिँदै जान्छ ।

कालिकोटको अग्लाईमा पुग्दै गर्दा लाग्छ, घाम नजिक–नजिक हुँदैछ । मान्मा पुग्दा घाम पश्चिमी पहाडबाट ओरालो झर्न थाल्छ । त्यो गोधुली साँझमा देखिने दृश्यहरुले मलाई अरु रोमाञ्चित बनाउँछ ।

किनमेल वा काम विशेषले शहर आएका गाउँलेहरुको अनुहार हेर्छु, त्यसमा म नयाँपन पाउँछु । अनुहार उही हो, लताकपडा उही हो । तर, मेरा लागि ती सबै नयाँ हुन् ।
त्यसबेला हठात् मेरो मस्तिष्कमा काठमाडौंको दृश्य सल्बलाउन थाल्छ । काठमाडौं, जो यहाँका लागि बिरानो छ । जस्तो कि, त्यो अर्कै ग्रह हो ।

केही स्थानीयसँग साक्षात्कारमा म भित्रको प्रश्नहरु तँछाड–मछाड गर्छ, ‘अस्पताल कता छ ? विद्यालय कता छ ? म सुख भोग्नका लागि दुःख खोज्दै यहाँसम्म आइपुगेको छु ।’

चौथो दिन । नाग्माबाट उक्लिदैछु । कालिकोट र जुम्लाको पुरानो सीमावर्ती बजार हो, नाग्मा । यहाँ पुराना शैलीका घरहरु देखिन्छन् । मार्सी चामलको भात र च्याङ्ग्राको मासु यहाँको रैथाने परिकार । तिला र हिमा नदीको संगम पनि हो, यो ।

नाग्माबाट अगाडि अरु कच्ची बाटोमा यात्रा छिचोल्नुपर्छ । हिमा नदीको किनारमा वनको बाटोले जुम्लाको सिञ्जालाई रमणीय बनाइदिएको छ । सिञ्जाको सेरोफेरोमा देखिन्छ, अनन्तसम्म मार्सी चामल फल्ने फाँट ।

करिब आधा घण्टा छिचोलेपछि नयाँ बजार भेटिन्छ । तर, नयाँ बजारमा रौनकता भेटिँदैन ।

जुम्लाको मानव सभ्यता निकै लोभलाग्दो छ । कर्णालीमा टिभी पुगेको छ, तर टिभीमा कर्णाली पुगेको छैन । बाटामा बालबच्चा भेटिन्छन् । तिनीहरुलाई सोध्छु, ‘कति टाढा छ विद्यालय ?’ उनीहरु भन्छन्, ‘अझै एक घण्टा लाग्छ ।’

विद्यालयको किताबमा कर्णाली छ । तर, कर्णालीमा किताब छैन । त्यहाँ पुगेपछि तपाईंलाई लाग्नसक्छ, भएभरका अभाव र दुःखहरु कर्णालीबासीले आफ्ना डौटे (जुम्लीहरुले ओढ्ने पच्छ्यौरा) समेटेर राखेका हुन् । शहरका मान्छेहरुले शोखको सपना देखेका छन् । जुम्लाले न शहर देखेको छ, न सपना । महसुस गर्छु, दुःखले न सपना देख्छ, न सपनाको भाषा पढ्नसक्छ ।

गोठीज्युला, भुलभुले हुँदै सल्लेरीसम्म मोटरसाइकलमा । त्यसपछि पैदल यात्रा दुई घण्टाको । अनि पुगिन्छ रारा ।

बाटो आसपसमा सल्लाको रुख छ । मध्यमा विशाल जलकुण्ड । बिहेको दिन बेहुलीले लुकेर बेहुला हेरे जस्तै रारालाई चिहाउनुपर्छ । लुकीलुकी ।

राराको एउटा छेउ पुग्दा साँझ पर्न लागेको छ । यो काइदाको समय हो, क्यामेरामा राराको सौन्दर्य कैद गर्ने । म यो मौका कहाँ चुकाउँछु ? अर्को दिन भने हिँउ पर्न थाल्यो । मौसम अरु तीन दिन यस्तै रहने जानकारी पाउँछु । त्यसपछि म आफ्नो बाटो लाग्नुमा नै भलाई देख्छु ।

एक्लो यात्री । हिँउको साम्राज्य । मलाई देख्नेहरु विस्फारित नजर लगाउँछन् । आर्मी चेकपोस्टमा हिउँ कम भएको छ । तर, बाटो हिलो छ । हिमा नदी माथि बिच्छ्याएको सानो काठे पुलबाट मोटरसाइकलमा दौडन खोज्दा कसो कर्णालीमा होमिनबाट जोगिएँ । लामो सास फेरेँ । घर सम्झिएँ । र, एक्लै मुस्कुराएँ ।

पानीले गोद्नु गोदेको छ । रुझ्दै मान्मा आइपुगियो ।

मान्मा आसपासका डाँडाहरु हिउँको सिरक ओडेर बसेको छ । बार्दलीमा निस्केर तातो तातो चियाको चुस्की लिँदै गर्दा मेरा आँखामा नाच्छ, कर्णालीको दुःख । बालविवाह, विद्यालय जानका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता, स्वास्थ्य सेवाको अभाव, बालबच्चाहरु गिट्टी कुट्दै गरेका । मान्माको पाखाभरीको हिउँभन्दा मेरो आँखा चाँडै पग्लिन्छ ।

कर्णाली चाहन्छ, हेलिकप्टरबाट होइन सडक मार्गबाट राज्य कर्णालीसम्म पुगोस् ।

मान्माको डाँडाबाट घाम ओझेल पर्दैैछ । कर्णालीका दुःख र अभाव पनि त्यसरी नै सधैंका लागि ओझेल भइदिए ? कञ्चन कर्णाली आफ्नै सुरमा सुस्ताइरहेको छ । त्यसले किन कर्णालीको दुःख र अभावहरु आफूसँगै बगाएर लग्दैन ?

दैलेख पुग्दा बादी समुदायका बालबच्चाले रोकेर गाएका गीतहरु, आफूले डाक्टर हुँ भनेर चिनाएपछि कोरोनाबारे प्रश्न गर्ने गुराँसेका एक हुल दाइहरु, कर्णालीका माछा खुवाउने दैलेखका दाई, सिञ्जामा खाना खान बस्दा जुम्लाका दुःख बिसाउने राराचोकका बड्डा, कोहलपुरका अफजल दाइ मेरा यात्रालाई सम्झाइरहने अजम्बरी पात्र हुन् ।

दैनिकी

पहिलो दिन – काठमाण्डौं -बुटवल(२५६ किमी)

दोस्रो दिन – बुटवल-कोहल्पुर (२५० किमी)

तेस्रो दिन – विश्राम

चौथो दिन – कोहल्पुर-नाग्मा(३०० किमी)

पाँचौं दिन – नाग्मा-सल्लेरी-रारा(९० किमी )

छैठौं दिन – रारा

सातौं दिन – रारा-मान्मा (१४० किमी )

आठौं दिन – मान्मा-कोहल्पुर(२४० किमी )

नवौं दिन – कोहल्पुर-स्याङ्जा(३१५ किमी )

दशौं दिन – स्याङ्जा-काठमाडौ(३००किमी)

बजेट – २५ हजार प्रतिब्यक्ति

बाइक  रोयल इन्फिल्ड हिमालयन

तेल – १०० लिटर पेट्रोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?