लकडाउनका कारण कुनै पनि हास्य टेलिश्रृंखलाको अहिले छायांकन हुन सकेको छैन । छायांकनमा जान नसकेकाले टेलिभिजनमा पुराना एपिसोडहरु नै प्रशारण भइरहेका छन् ।
तर, भनिन्छ नि खाने मुखलाई जुँगाले छेक्दैन । हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले यही उखान चरितार्थ गर्दै आफ्नै घरभित्र कमेडी सिरिज बनाउन सुरु गरेका छन् । उनले निर्देशन र अभिनय गर्ने ‘हल्का रमाइलो’ को छायांकन हुन नसक्दा उनी घरबाटै ‘लकडाउन’ सिरिज लिएर दर्शकमाझ आएका हुन् ।
लकडाउनको समयमा घरमा नै थुनिएर बसेका बल्छीले यो सिरिजमा आफ्नी श्रीमतीलाई पनि अभिनय गराएका छन् । यसमा उनीहरु श्रीमान–श्रीमतीकै भूमिकामा छन् ।
बल्छी भन्छन्, ‘लकडाउनको समय घर बस्दा–बस्दा दिक्क भइयो । यो फुर्सदको समय पनि किन खेर फाल्ने भनेर लकडाउनको विषयमा नै केही बनाउने सोच आएरसुरु गरेको हुँ ।’
बल्छीले आफ्नै युट्युब च्यानलबाट ‘लकडाउन’ अपलोड गर्छन् । यसबाट उनलाई केही आम्दानी पनि भइरहेको छ ।
‘युट्युबमा आफ्नै पसल छ । त्यसबाट पनि फुर्सदको समय केही आम्दानी हुन्छ भन्ने लागेर यो सुरु गरेका हौँ,’ उनले सुनाए ।
बल्छीको श्रीमती करुणा कलाकार होइनन् । सुरुमा उनले यसमा अभिनय गर्न मानेकी थिइनन् । बल्छीले नै फकाएर उनलाई अभिनय गराए । र, करुणाको काम चित्तबुझ्दो नै छ ।
‘पहिलो चोटीको प्रयास हो । जे होस, राम्रै गरेकी छिन्,’ बल्छीले सन्तुष्टी जनाए ।
कमेडी सिरियलको खडेरीका बेला बल्छीको लकडाउनलाई दर्शकले रुचाएका छन् । भ्युज र दर्शक प्रतिकृया पनि राम्रो छ । बल्छीले यति सफल होला भन्ने सोचेका थिएनन् ।
उनले भने, ‘बोर भएर बस्नुभएको दर्शकले मनोरञ्जन लिनुहुन्छ भन्ने आशा थियो । तर, यत्तिको रुचाउनु हुन्छ भन्ने थिएन । दर्शकप्रति म नतमस्तक नै छु ।’
‘लकडाउन’लाई ‘हल्का रमाइलो’ खिच्ने उज्ववल खड्काले नै खिचिरहेका छन् । बल्छी र उनको घर सँगै भएकाले काम गर्न सजिलो भएको छ । यसैगरि सम्पादक रविन भट्टको पनि घर पनि नजिकै भएकाले झन् सजिलो भएको छ ।
बल्छीले भने, ‘छायांकार र सम्पादकको घर नजिकै भएकाले उहाँहरुले नै काम गर्दिनु भएको छ । जे होस, कोरोनासँग सतर्क भएर दर्शकलाई मनोरञ्जन दिन काम गरिरहेका छौँ ।’
लकडाउन जारी रहुञ्जेल आफ्नो कमेडी सिरिज हरेक साता दुई भाग युट्युबमा सार्वजनिक हुने बल्छीले बताए ।