Comments Add Comment

लकडाउनमा यात्रु ओसार्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

२४ चैत, रामेछाप । नक्कली बिरामी बनाएर यात्रीहरु ओसार्ने एउटा एम्बुलेन्सलाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका–६ फर्पुको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौ‌ंबाट ६ जना यात्रीहरु लिएर आएको सो एम्बुलेन्ससहित चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर–३ ०–२२–०१ च २१६३ नम्बरको एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

रामेछाप प्रवेश गर्ने क्रममा मन्थली नगरपालिकाको सेलघाटमा सो एम्बुलेन्सलाई प्रहरीले शंका लागि जाँच गरेको थियो । नक्कली बिरामीसहितको एम्बुलेन्स मन्थली छिर्न लागेको जानकारी सेलघाट प्रहरीले दिएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले एम्बुलेन्स र एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

एम्बुलेन्समा आएका मानिसहरुलाई भने घर पठाइएको उनले बताए । एम्बुलेन्समा आएकाहरु सबै गोकुलगंगा गाउँपालिका ६ का स्थानीय बासिन्दा हुन् । उनीहरु सबैको स्वास्थ्य अवस्था राम्रो भएको उनले बताए ।

पाठकका अनुसार एम्बुलेन्स चालक बुद्ध तामाङ र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा राखी अनुसन्धान भइरहेको छ । शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान, कान्छाराम कन्सट्रक्सन प्रा.लि.ले नि:शुल्क उपलब्ध गराएको सो एम्बुलेन्स गोकुलगंगा गाउँपालिका–६ नंं.वडा कार्यालयले सञ्चालन गर्दै आएको छ ।

सार्वजनिक यातायात सञ्चालनमा रोक लागेपछि जिल्लाबाट बिरामी लिएर जाने एम्बुलेन्सहरुले काठमाडौँबाट फर्कदा त्यताबाट आउने मानिसहरुसँग महंगो भाडा लिएर यात्रीहरु बोक्न लागेपछि प्रहरीले एम्बुलेन्सको जाँचमा समेत कडाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment