
२५ चैत्र कैलाली । र्यापिड डाइग्नोस्टिक टेष्ट अन्तर्गत कैलाली र कञ्चनपुरबाट मंगलबार ६६ जनाको थ्रोट स्वाब र रगतको नमूना काठमाडौं पठाइएको छ ।
कैलालीमा कोरोनाको संक्रमण बढ्न थालेपछि र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने सरकारले निर्णय गरेको थियो ।
काठमाडौंबाट खटिएको टोलीले मंगलबार कैलाली र कञ्चनपुरमा गरी १९५ जनाको थ्रोट स्वाब र रगतको नमूना संकलन गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्किले बताए ।
१९५ मध्ये ६६ जनाको स्वाब र रगतको नमूना टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको उनले बताए । किटको परिक्षण पनि आवस्यक परेको हुँदा रगतको नमूनासमेत पठाइएको उनले जानकारी दिए ।
एउटा टोलीले कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकामा ९६ जना र अर्को टोलिले कैलालीको लम्कीचुहाबाट ९९ जनाको स्वाब र रगतको नमूना संकलन गरिएको थियो ।
पहिलो चरणमा गोदावरी नगरपालिका र कञ्चनपुरबाट २१ जना तथा लम्कीचुहाबाट ४५ जनाको गरी ६६ जनाको नमूना पठाइएको कार्कीले बताए ।
बाँकीको नमूना बुधबार पठाइने उनले बताए । सरकारले सुदूरपश्चिम् प्रदेशको लागि पाँच हजार किट पठाएको छ ।
अहिले १९५ जनाको रगतबाट किटको पनि परीक्षण गरेर त्यसपछि र्यापिड टेस्टलाई अगाडि बढाइने कार्कीले जानकारी दिए ।
प्रतिक्रिया 4