
९ वैशाख कैलाली । र्यापिड टेस्टका क्रममा कैलालीमा एक जनामा कोरोना एन्टबिडी पोजेटिभ देखिएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डाका १९ वर्षीय युवकको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरटीडी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । उनी चैत १० गते भारतको पुनाबाट घर फर्किएका थिए ।
झन्डै एक महिना पहिले नेपाल आएका उनी घरमै बसेका थिए । भारतबाट आएकाहरू पहिचान गर्दै र्यापिड टेस्ट गर्ने क्रममा उनमा पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले बताए ।
‘एक हप्ता पहिले सामान्य टाउको दुखेको भन्दै क्लिनिकबाट औषधि खाएको पाइयो। त्यसपछि कुनै लक्षण देखिएको छैन’ उनले भने ।
अहिले युवकलाई थप परीक्षणको लागि सेती प्रादेशिक अस्पताल पठाइएको उनले जानकारी दिए । यसअघि क्वारेन्टाइनमा रहेकाहरुलाई र्यापिड टेस्ट गरेको स्थानीय तहले अहिले भारतबाट चैत महिनामा आएकाहरुको पनि आरडीटी विधिबाट परीक्षण गरिरहेको छ ।
मंगलबारदेखि परीक्षण सुरु गर्दा पहिलो दिन नै युवकमा संक्रमण देखिएको हो । र्यापिड टेस्टमा पोजेटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणपछि मात्रै संक्रमण रहे नरहेको पुष्टि हुने स्वास्थ्य शाखा प्रमुख जोशीले जानकारी दिए ।
यसअघि सुदूरपश्चिममा पाँच जनामा कोरोना पुष्टि भइसकेको छ । तीमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया 4