 
																			१० वैशाख, काठमाडौं । संगठनप्रति नकारात्मक सन्देश र टीकाटिप्पणी प्रवाह गर्ने गरी सञ्चालित फेसबुक, ट्विटर, भाइबर, ह्वाट्स एपसहितका विभिन्न सामाजिक सञ्जालका समूह छाड्न प्रहरी प्रधान कार्यालय, नक्सालले सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका वरिष्ठ उपरीक्षक (एसएसपी) एवं केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले बुधबार दिउँसो सबै प्रहरी कार्यालयलाई यो निर्देशन दिएका हुन् । जोशीले सबै प्रहरी कर्मचारीलाई नेपाल प्रहरीको नियमावली, सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० एवं सामाजिक सञ्जाल (फेसबुक लगायत) व्यवस्थित प्रयोग गर्ने सम्बन्धी गाइडलाइन, २०७१ पनि सम्झाएका छन् ।
‘नीतिमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतिपय प्रहरी कर्मचारीबाट संगठनप्रति नै नकारात्मक सन्देश एवं टीकाटिप्पणी प्रवाह गर्ने गरी सञ्चालित विभिन्न ग्रुपहरूमा सदस्यका रुपमा आवद्ध हुने गरेको पाइएको हुँदा त्यहाँ तथा मातहतमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कुनै पनि त्यस्ता ग्रुपमा आवद्ध भएको भए तत्कालै ग्रुपबाट हट्न लगाउनु हुनका साथै कुनै पनि त्यस्ता ग्रुपहरूमा आवद्ध नहुने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध गरिएको छ’, जोशीले भनेका छन् ।
साथै, मिडिया नीतिमा सञ्चारमाध्यमसँग कसले कुरा गर्ने भन्ने सम्बन्धमा स्पष्ट उल्लेख गरिएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न पनि भनिएको छ । निर्देशनको अवज्ञा गरेर संगठनको गरिमा र मर्यादामा आँच आउने कार्य गरे प्रहरी कर्मचारीमाथि नै प्रहरी नियमावली २०७१ बमोजिम कारबाही हुने निर्देशनमा उल्लेख गरिएको छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4