Comments Add Comment

‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

१२ वैशाख, रत्ननग । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ ।

बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ ।

केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ गर्न शुरु गरिएको हो । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ-कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । ‘दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ’, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण प्रकाश उप्रेतीले भने ।

विसं २०६९ मङ्सिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जिपीएससहित रेडियोकलर जडान गरेको थियो । पुस १५ देखि हात्ती सम्पर्कविहीन भयो ।

रेडियोकलर माघ २४ गते पर्सा निर्मलबस्तीको जङ्गलमा फेला परेको थियो । यो समयमा ध्रुवेलाई मानुपर्ने चर्को आवाज उठेको थियो । त्यसपछि ध्रुवे करिब तीन वर्षअघि मात्रै निकुञ्जमा देखियो । वर्षको एक दुईपटक हात्ती प्रजनन केन्द्र खोरसोर देखापर्ने ध्रुवे आजभोलि बोक्लोरूपमा देखिँदै आएको थियो । यही मौका परी निकुञ्ज र संरक्षण केन्द्रले ध्रुवेलाई रेडियोकलर लगाउन सफल भएको हो ।

यसपटक भने स्याटेलाइट रेडियोकलर जडान गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले भने, ‘यो कम्तीमा दुईदेखि चार वर्षसम्म चल्छ । जिपीए रेडियोकलरभन्दा यसबाट हात्तीको अवस्था छिटो पत्ता लगाउन सकिन्छ ।’

विसं २०६९ कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मङ्सिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास सुरु भएको थियो । ध्रुवेले विसं २०६६ देखि २०६९ भित्रको समयमा १५ जनाको ज्यान लिएको थियो भने ५० बढी घर भत्काएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरू एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् ।

नेपाल-भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा छन् । निकुञ्जले पालेका ५७ हात्ती छन् । चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे र रोनाल्डोलाई रेडियोकलर जडान गरिएको छ ।

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment