
२४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब ४ लाख ०७ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशक राजन श्रेष्ठले लकडाउन नखुल्दै १ लाख २७ हजार नेपाली स्वदेश फर्किन चाहेको जानकारी दिए ।
समस्यामा परेका नेपालीलाई उद्धारका लागि पहल सुरु भएको र त्यसका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए । श्रेष्ठकाअनुसार यस्तो तथ्यांक कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसिया गरी ७ देशका कामदारहरुको मात्रै हो ।
उनका अनुसार २ लाख ८०हजार श्रमिकले लकडाउन खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । यो विवरणसहित सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन बोर्डले श्रम मन्त्रालयमा बुझाएको श्रेष्ठले जानकारी दिए ।
‘हामीले मूल रुपमा अब फर्किन चाहने कामदारलाई ल्याउन दिने हो भने दुई किसिमको समिति बनाएर काम थाल्न सुझाव दिएका छौं,’ उनले भने, ‘एउटा, उनीहरु एयरपोर्टमा झरेपछि घरसम्म कसरी लैजाने भन्ने व्यवस्थापन गर्न यहाँ सरकारी स्तरको व्यवस्थापन समिति बन्नुपर्छ । अर्को, विदेशमा दूतावास र गैरआवासीय नेपाली संघसहित सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित समिति बनाउनुपर्छ ।’
उनले यी समितिहरुले के–के काम गर्ने भनेर प्रतिवेदनमा स्पष्ट सुझाव दिइएको बताए ।
श्रेष्ठका अनुसार अहिले विदेशमा ११ नेपालीको शव अलपत्र छ । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विभिन्न देशमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन नसकिएको हो ।
बोर्डका अनुसार आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८७५ जना नेपाली विश्वका विभिन्न भागमा विभिन्न प्रयोजनमा पुगेको देखाउँछ । त्यसमध्ये अन्य मुलुकमा भिजिट भिसा बाहेक १३ लाख ४८ हजार ८७२ जना कामको लागि अनुमति लिएर गएकाहरु छन् ।
(यसअघि भुलबस तथ्यमा भएको त्रुटि क्षमायाचनासहित सच्याइएको छ- संं)
प्रतिक्रिया 4