+

डा. बालकृष्ण शाहसँग कुराकानी : लामो अवधिको जन्मान्तरले गर्भवतीलाई खतरा हुन्छ ?

२०७७ वैशाख  २६ गते १०:१३ २०७७ वैशाख २६ गते १०:१३
डा. बालकृष्ण शाहसँग कुराकानी : लामो अवधिको जन्मान्तरले गर्भवतीलाई खतरा हुन्छ ?

विगतमा जन्मान्तर एकदमै छोटो अवधिको हुन्थ्यो । धेरैजसोले एक वर्षको अन्तरमा बच्चा जन्माउने गर्थे । पछिल्लो समय भने ठिक उल्टो भएको छ । पहिलो बच्चा जन्माएको लामो अवधिपछि मात्र दम्पतीहरू दोस्रो सन्तान जन्माउने योजना बनाउँछन् । पहिलो सन्तान जन्माएको लामो अवधिपछि दोस्रो सन्तान जन्माउँदा गर्भवतीको स्वास्थ्यमा कुनै किसिमको जोखिम हुन्छ ? पहिलो र दोस्रो सन्तानबीच खास जन्मान्तर कति हुनुपर्छ ? यसै सन्दर्भमा अनलाइनखबरले मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहसँग कुराकानी गरेको छ ।

कुनै दम्पतीले पहिलो बच्चा जन्मिएको लामो अवधिपछि पुन: अर्को सन्तान जन्माउने रहर गरेमा केही कठिनाइ हुन्छ ?

पहिलो बच्चा जन्मिएपछि लामो समय अर्थात् जन्मान्तर लामो गरेर अर्को सन्तानको रहर गर्नु सामान्य कुरा हो । स्मार्ट र रोजगारीमा ब्यस्त दम्पतीहरूले समय मिलेपछि नै अर्को सन्तानको रहर गर्नुपर्छ ।

जन्मान्तर लामो भए कै कारणले स्वास्थ्यका दृष्टिले खासै कठिनाइ त हुँदैन । तर, लामो जन्मान्तरले आमाको उमेर धेरै अर्थात् ३५ वर्ष पार गर्दा चाहिँ समस्या आउन सक्छ। यसका साथै गर्भवती महिलाहरूले लामो जन्मान्तर पछि गर्भ राख्दा अलिक बढी झन्झट तथा चिन्ता लिने गरेको पाइन्छ। जुन आवश्यक छैन र राम्रो परामर्शपछि हराउने गर्छन् ।

डा. बालकृष्ण शाह

बच्चा जन्माउन चाहेमा महिलाले कुनै परीक्षण गर्नु आवश्यक छ ?

जन्मान्तर लामो नभए पनि र पहिलो पटकको गर्भको योजना बनाउनु अगाडि पनि चिकित्सकसँग परामर्श लिनु राम्रो हो । सबै महिलाहरूले परीक्षण नै गराउनु पर्छ भन्ने हुँदैन, महिलाको महिलाकाे उमेर र स्वास्थकाे अवस्था हेरेर चिकित्सकले आवश्यक परीक्षण र औषधि पनि सिफारिस गर्न सक्छन् । गर्भको योजना गरेपछि फोलिक एसिड नामक औषधि सुरु गरिहाल्नुपर्छ ।

पहिलो सन्तान जन्मेको लामो अवधिपछि गर्भ रहेमा के कस्ता सावधानी अपनाउनुपर्छ ?

जन्मान्तर लामो भएका कारणले नै थप सावधानी पर्दैन । गर्भावस्थामा पोषणयुक्त खाना, प्रशस्त मात्रामा पानी, शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहनु, पारिवारिक सन्तुलन र समयको उचित व्यवस्थापन महत्वपूर्ण मानिन्छ । गर्भवतीको उमेर र स्वस्थ्य अवस्थाप्रति विशेष सजग हुनुपर्छ ।

यसले बच्चाको मानसिक एवं शारीरिक विकासमा कुनै समस्या हुन्छ ?

जन्मान्तर लामो भएका कारणले नै बच्चाको मानसिक एवं शारीरिक विकासमा असर गर्दैन । तर, गर्भवती महिलाको उमेर ३५ पार गरेको छ भने क्रोमोजमको खराबी तथा अन्य केही जटिलता कसैकसैमा देखिन सक्छ । सबैलाई नराम्रो हुन्छ भन्ने छैन ।

 के कस्ता अवस्थामा गर्भधारण गर्नु जोखिमपूर्ण हुनसक्छ ?

राम्रो सन्तान र गर्भको राम्रो विकासका लागि शारीरिक र मानसिकरुपमा तयार हुनुपर्छ । शारीरिक रुपमा कमजोर, दीर्घरोगी तथा मानसिक तनाव रहेको अवस्थामा गर्भधारण जोखिमपूर्ण हुन्छ ।

शरीरको तौल धेरै कम वा बढी हुनु, उचाइ कम हुनु, उमेर कम (२० भन्दा कम) वा बढी (३५ भन्दा बढी) हुनु, जस्ता अवस्थाले जोखिम निम्त्याउन सक्छ ।  थाइराइड, मधुमेह, उच्चरक्तचापलगायत अन्य दीर्घरोगहरू भएको अवस्थामा गर्भधारण जोखिमपूर्ण हुन्छ। तर, समयमा नै यसलाई व्यवस्थापन गरेर गर्भधारण गर्न तथा सन्तान प्राप्त गर्न सकिन्छ ।

खासमा दुई सन्तानबीच जन्मान्तर कति हुनुपर्छ ? .

एउटा बच्चाको जन्मपछि महिलाको शारीरिक अवस्थापूर्व गर्भवतीको अवस्थामा आउन समय लाग्छ । विभिन्न अध्ययनहरूले सन्तानको जन्मपछि कम्तीमा १८ महिना महिलाले गर्भधारण नगर्नु नै राम्रो हुने बताएको छ । हालसम्मको अध्ययनहरूले १८ महिना देखि ५९ महिनासम्म जन्मान्तर कायम गर्नु उपयुक्त हुने देखाएको छ ।

नेपालमा कम उमेरमा विवाह गर्ने, पहिलो बच्चा कम उमेरमा गर्ने र जन्मान्तर कम भएका कारण गर्भको अवधि नपुग्दै बच्चा जन्मिने, कम तौलका बच्चा हुने, कुपोषण, तथा शिशुमृत्यु दर बढी रहेको देखिएको छ । हाम्रो देशमा दुईदेखि ५ वर्षको जन्मान्तर गर्नु उपयुक्त रहनेमा विज्ञहरूको सुझाव छ । कम उमेरमा बच्चा पाएको खण्डमा तथा शल्यक्रिया (सिजरियन) भएको अवस्थामा कम्तीमा तीन वर्ष जन्मान्तर गर्नु राम्रो हुन्छ ।

जन्मान्तर डा. बालकृष्ण शाह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय