+
+

संक्रमित युवक दिल्लीबाट ११ दिन हिँडेर आएका थिए

वस्तीमा संक्रमण नफैलिएको दावी

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ ६ गते १५:०४

६ जेठ, विराटनगर । सोमबार संक्रमण पुष्टि भएका सुनसरीको गढी गाउँपालिकाका युवक १० जना साथीसँगै भारतको दिल्लीबाट आएको खुलेको छ । गढी गाउँपालिका– १ का २४ वर्षका युवक १० जना साथीसँगै दिल्लीबाट ११ दिन हिँडेर आएका गाउँपालिकाले जनाएको छ ।

वैशाख २९ गते राति विराटनगरको सीमावर्ती क्षेत्र जोगवनी आइपुगेका उनीहरुलाई मध्यरातमा भारतीय प्रहरीले चोरबाटो हुँदै नेपाल प्रवेश गराएका थिए ।

भारतबाट आएका १० जनामध्ये ५ जना गढी गाउँपालिका, २ जना इटहरी, एक जना धरानका र एक जना इनरुवाका थिए । दुई जना भने मोरङका थिए ।

उनीहरुलाई जोगवनी नाकाबाट गाउँपालिकाकै पहलमा एम्बुलेन्समा राखेर वैशाख ३० गते सिधै गढी गाउँपालिका कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित युवक गाउँमा प्रवेश गर्न नपाएका कारण जोखिम नभएको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । ‘जोगवनीमा आएको जानकारी पाएपछि हामीले एम्बुलेन्समा हालेर क्वारेन्टाइनमा राख्यौं’ उनले भने ‘सँगै आएकाहरुमा कोरोना देखिएन, एक जनामा मात्र देखियो ।’

मंगलबार इटहरी उपमहानगरपालिका– २ का १८ वर्षका युवकमा कोरोना संक्रमण देखिएको छ । ब्रिटिस सेनामा भर्ती हुने तयारीमा रहेका उनी लकडाउनको समयमा पनि दौडन्थे । केही दिनयता ज्वरो आएका कारण उनी घरमै बसिरहेका थिए ।

सोमबार उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएका उनको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

संक्रमित युवक गत माघमा भारतबाट आएदेखि घरमै थिए । मंगलबार सुनसरीमा कोरोना संक्रमण पुष्टि भएका अर्का व्यक्ति सशस्त्र प्रहरी हुन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?