
१३ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्यामा निरन्तर वृद्धि देखिएको छ । सोमबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसका ११ हजार ६ सय ८७ नयाँ संक्रमित फेला परेका छन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ सय ७ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २३ हजार ४७३ पुगेको छ । संक्रमित संख्याको हिसाबमा ब्राजिल कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा प्रभावित हुने दोस्रो मुलुक बनेको छ । ब्राजिलमा कोरोना भाइरस नियन्त्रणको विषयलाई लिएर आन्तरिक राजनीतिक विवाद पनि चुलिएको छ ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना भाइरस नियन्त्रणका लागि केही राज्यले लगाएको लकडाउनको विरोध गर्दै आएका छन् ।
स्रोत : सीएनएन
प्रतिक्रिया 4