Comments Add Comment

[अपडेट] बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

१९ जेठ, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताए ।

मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताए । उनले भने, ‘सनाखत गर्ने क्रम चलिरहेको छ । टिकट काटेर गाडी चढेको जस्तो भए सनाखत गर्न छिटो हुने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment