+
+

कोरोना परीक्षण रिपोर्ट काठमाडौं जाने लाइसेन्स !

सुवास पण्डित सुवास पण्डित
२०७७ जेठ २८ गते १९:३९

२८,जेठ, चितवन । चितवनमा सरकारी मापदण्डमा नपर्नेहरुले पनि पहुँचका आधारमा कोरोना संक्रमण परीक्षण गर्ने गरेको पाइएको छ ।

भारतलगायत विदेशबाट आएका, क्वारेन्टिनमा बसेका, संक्रमण फैलिएको क्षेत्रका वासिन्दा र संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा सम्पर्कमा रहेको पाइएका व्यक्तिहरुको कोरोना संक्रमण गर्ने सरकारी मापदण्ड छ । तर पहुँच हुनेहरुले यसको उल्लंघन गरी कोरोना संक्रमण परीक्षण गराई राज्य स्रोतको दुरुपयोग गरेको देखिएको छ ।

यसरी कोरोना परीक्षण गराउने कतिपयले उक्त रिपोर्ट काठमाडौं उपत्यका प्रवेशका लागि सहज बनाउने ‘लाइसेन्स’ को रुपमा पनि प्रयोग गरेको भरतपुर कोभिड– १९ प्रयोगशालाका कतिपय स्वास्थ्यकर्मी नै बताउँछन् ।

चितवन मेडिकल कलेजबाट हालै मात्रै एमबीबीएस उतीर्ण भएका एक चिकित्सक मेडिकल काउन्सिलमा जानुपर्ने काम देखाएर जिल्ला प्रशासन कार्यालयमा सवारी पास बनाउन पुगेका थिए सँगै उनले भरतपुर अस्पतालमा नै कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएका थिए । जिल्ला प्रशासन कार्यालयले दिएको सवारी पास लिएर मोटरसाइकलमा काठमाडौंस्थित घर पुगेका उनमा कोरोना संक्रमण पुष्टि भयो ।

भरतपुरकै मनकामना अस्पतालमा काम गर्ने भरतपुर महानगरपालिका–४ घर भएकी एक नर्सले पनि काठमाडौं जानुअघि स्वाब परीक्षण गराउन दिएकी थिइन् । उनमा पनि कोरोना संक्रमण पुष्टि भयो ।

यीबाहेक अन्य धेरै व्यक्तिले पनि सम्भावित जोखिममा नहुँदा पनि कोरोना संक्रमण परीक्षण गराएका छन् । कतिपय जनप्रतिनिधि र उनीहरूका नजिकका मानिसहरुले पनि कोरोना परीक्षणका लागि स्वाब पठाएका छन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी पनि स्वाब परीक्षणलाई पहुँच भएकाहरुले काठमाडौं जाने ‘लाइसेन्स’ बनाएको स्वीकार गर्छन् । डा. तिवारीले यस्ता घटनाहरुका बारेमा आफूले पनि जानकारी पाएकोले रोक्न प्रयास गर्ने बताए । तर, साथी सम्पर्क र पहुँचका आधारमा आफूहरुलाई समेत जानकारी नदिई स्वाब निकाल्ने र परीक्षण गराउने गरिएको डा. तिवारीको गुनासो छ ।

‘कोभिड–१९ ल्याब, कोरोना अस्पताल र भरतपुर अस्पताल तीन संस्थाको व्यवस्थापन र जिम्मेवारी छ, सबैतिर ध्यान दिन पनि सकिएको छैन, स्वार्थ समूहहरु कहिँ न कहिँ खेलिरहेका हुन्छन्’ डा. तिवारीले भने ।

भरतपुर कोभिड–१९ प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले पनि केही व्यक्तिहरुले पहुँचका भरमा परीक्षण मापदण्ड विपरीत कोरोना जाँचका लागि स्वाब पठाउने गरेको बताइन् । उनले कोरोना ल्याबमा आफूहरुले कसैको पनि स्वाब संकलन नगर्ने तर अन्यत्रबाट संकलन भएर आउँदा थाहा हुने नगरेको बताइन् ।

‘मलाई पनि केही व्यक्तिहरूले काठमाडौं जाने लाइसेन्सका रूपमा कोरोना परीक्षण गराएको जस्तो लागेको छ, केही पुष्टि पनि भएका छन्’ डा. अधिकारीले भनिन् ‘यो सरासर गलत छ, राज्यको स्रोत साधानको दुरूपयोग हो ।’

पछिल्लो समयमा ल्याबमा स्वाब थुप्रिनुमा यस्ता पहुँचको आधारमा संकलन भएका स्वाब पनि कारण बनेको छ । झण्डै आठ सयभन्दा बढी स्वाब चितवनको कोभिड ल्याबमा जाँचका लागि पालो पर्खिरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले अत्यावश्यक काम भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयले नै पास दिने गरेको बताए । अत्यावश्यक काम नभएका तर पहुँच भएकाहरुले कोरोना जाँचको रिपोर्ट देखाएर काठमाडौं जाने गरेको उनको भनाइ छ ।

प्रयोगशालाका प्राविधिकहरुका अनुसार एउटा स्वाब परीक्षण गर्दा राज्यको १५ हजारदेखि २० हजार रुपैयाँ खर्च हुन्छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?