
५ असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषिमा आत्मनिर्भर हुंदै खाद्यान्न निर्यात गर्ने लक्ष्यसहित भूमि बैंक स्थापना गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि शुक्रबार नगरसभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ ।
नगरपालिकाले भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । भूमि बैंक स्थापनापछि करार खेती गर्नेहरुका लागि जग्गा लिजमा लिँदा जग्गा वहाल कर मिनाहा गरिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।
कृषियोग्य जमिनको चक्लाबन्दी गरी गैरकानूनी खण्डिकरणलाई नियन्त्रण गर्ने र नगरमा जग्गा बाझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जग्गा बांझो राखेमा भूमि बैंकले लिजमा दिन सक्ने नीति बनाइने भएको छ ।
वैदेशिक रोजगारबाट घर फर्किएका युवा र कृषि तथा पशु उद्यमीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था, बाली बिमा कार्यक्रम सहज बनाउने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
पूर्वाधार विकासका लागि पँुजीगत बजेटको न्यूनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभारमा खर्च गर्ने, आगामी आर्थिक वर्षभित्र सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना नीति कार्यक्रममा समेटिएको छ ।
प्रतिक्रिया 4