Comments Add Comment

राजविराजमा फेरि लकडाउनमा कडाइ

६ साउन, सप्तरी । गत बिहीबार मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीको राजविराजमा फेरि कडाइ गरिएको छ ।

राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन गर्ने भन्दै मंगलबार नगर क्षेत्रमा माइकिङ गरेको छ । राजनीतिक दलका नेताका साथै उद्योग वाणिज्य संघका पदाधिकारीले समेत लकडाउन गर्न सुझाव दिएकाले बुधबारदेखि लकडाउन गरिने मेयर शम्भु यादवले बताए ।

यद्यपि जिल्ला प्रशासन कार्यालयले यससम्बन्धी निर्णय गरेको छैन ।

राजविराज नगरपालिका– ६ का ७२ वर्षीय प्रतिष्ठित व्यापारीको मृत्यु भएपछि उनका सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दा परिवारका पाँच जना र पसलमा काम गर्ने दुई जनामा संक्रमण पुष्टि भयो ।

वडा अध्यक्ष प्रेम यादवका अनुसार बृद्वको कोरोना संक्रमित भएर मृत्यु भएलगत्तै उनका परिवार र कामदार गरी १९ जनाको स्वाब संकलन गरिएको थियो ।
तर वृद्धको घरमा काम गर्ने दुई महिला कामदारको भने परीक्षण गरिएको थिएन । स्थानीयको विरोधपछि उनीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

मेयर यादवले मंगलबार मात्रै १ सय २६ जनाको स्वाब संकलन गरिएको बताए । ‘संकलन गरिएका स्वाबको नतिजा छिटो ल्याउन केही स्वाब गजेन्द्रनारायण सिंह अस्पतालमा जाँच्न दिइएको र केही विराटनगर पठाइएको छ’ उनले भने ।

कोरोना संक्रमण भएर मृत्यु भएका बृद्वको राजविराजमा दुई वटा ठूलो व्यवसाय छ । एउटा ग्यासको डिलर अर्काे बिऊबिजन तथा पशुपंक्षीजन्य औषधिको पसल छ । यो दुबै पसल एकै ठाउँमा छ ।

भारतमा बस्दै आएका वृद्वको परिवार यहाँ आएपछि आफ्ना कर्मचारीसँग बसेर हरहिसाब लिएको, पसलमा धेरै समय बिताएको उनकै कर्मचारी बताउँछन् ।

पसलमै रहेको बेला पनि उनीसँग भेट्न राजविराजका अन्य व्यापारी र शुभचिन्तक पुगेको उनका कर्मचारी बताउँछन् । ‘उहाँसँग चिनजान र मित्रता भएका धेरै मान्छे आएर भेटघाट गर्नुभएको छ’ स्थानीय एक व्यक्तिले भने, ‘सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नु जरुरी छ ।’

उनकै पसलमा काम गर्ने एक जना कामदार पनि कोरोना संक्रमित देखिएका छन् । तर यी संक्रमित पुरुष भने राजविराजको विभिन्न ठाउँदेखि विष्णुपुर गाउँपालिकासम्म पुगेको देखिएको छ ।

‘उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा विष्णुपुर गाउँपालिकासम्म गएर धेरै व्यक्तिसँग भेटघाट गरेको बुझेको छु’ वडा अध्यक्ष यादवले भने, ‘अन्य कुरा पत्ता लाग्दैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment