Comments Add Comment

सरकारी अस्पतालका प्रमुखले निजीमा अभ्यास गर्न नपाउने, पूर्वस्विकृती पनि खारेज

१३ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका प्रमुखहरुले अबदेखि निजी अस्पतालमा अभ्यास गर्न नपाउने व्यवस्था गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ,’ भन्ने बुँदालाई टेकेर यो व्यवस्था लागू गरेको हो ।

यसअघि अस्पताल प्रमुखको जिम्मेवारीमा रहेका कतिपय चिकित्सकहरुले निजी अस्पतालमा प्राक्टिस गर्दै आएका थिए । त्यसको लागि स्वास्थ्य मन्त्रालयसँग पूर्वस्विकृती लिनुपर्दथ्यो । मन्त्रालयले सो पूर्वस्वीकृतिसमेत खारेज गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ९ साउनमा मन्त्रिस्तरीय निर्णय गर्दै संघ अन्तर्गतका सबै, प्रदेश अन्तर्गतका सबै र स्थानीय तह सबैलाई सोअनुसार गर्न/गराउन परिपत्र गराएका छन् । अस्पतालहरुमा पत्र १२ गते गएको हो ।

अहिले धेरै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्ने चिकित्सकको नामसँगै सरकारी अस्पतालको नामसमेत उल्लेख गरिने गरिएको छ । मन्त्रालयको पछिल्लो निर्णयसँगै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गरेका सरकारी चिकित्सकहरुले आफू कार्यरत सरकारी अस्पतालका नाम उल्लेख गर्नसमेत पाउने छैनन् ।

यस्तै ९ साउनकै बैठकले सबै सरकारी अस्पताल र सरकारको अनुदान प्राप्त अन्यहरुले सरकारी कार्यक्रमहरु अनिवार्य रुपमा सञ्चालनमा ल्याउन पर्ने निर्णय गरेको छ । अहिले कतिपय सरकारी र अनुदान प्राप्त अस्पतालहरुले आमा सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अटेरी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment