+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

साताका तीन कविता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १७ गते ११:१५

१. गिँड

– अमृता स्मृति

मेरा दुवै आँखा ढाकेर
मुटु सिरिङ्ग–सिरिङ्ग हुने गरी
मस्तिष्कमा तुफान आएजस्तै
मेरो आँगनमा ठिङ्ग उभिन आइपुग्ने तिमी को हौ ?

मैले लेखिरहेको कविता देखेर हाँस्ने
मेरो चालढाल र नृत्यको उपहास गर्ने
शरीरका रौं ठाडा–ठाडा हुने गरी
अविच्छिन्न अँध्यारो आलाप गर्दै
मेरो दैलोमा उपस्थित तिमी को हौ ?

टिठलाग्दो आँखाले हेर्दै
मुटुको कुना छोएर बग्न
कुन वेदनाको धुन बजाइरहेछौ ?
वर्षौं पुरानो घाउ बोकेर
‘मलम छ ?’ भन्न आइपुग्ने तिमीलाई चिनिनँ

म, तिमीले लेख्दालेख्दै छाडेको आधा कथा
आमाको शरीर छोप्दाछोप्दै च्यातिएकी गुन्यूँ
तिमीले भुलेको एउटा गन्तव्य
छातीमाथि बुटको वर्षातले निथ्रुक्क भएकी
म आँसुकाली
म खुम्चियाधुरा

बाँकी छ कि संवेदना
बाँकी छ कि राष्ट्रियता
बाँकी छ कि इमान सोच्दै
तिम्रो मझेरीमा झरेकी
गिद्दे आँखाको शिकार बनाइएकी
म कलियुगकी द्रौपदी
घरि तलबाट घरि माथिबाट बलात्कृत
म लिपुलेक, लिम्पियाधुरा, कालापानी
सुस्त–सुस्त खिया लागिरहेकी ‘सुस्ता’ !
प्रत्येक रात मेरो चीरहरण हुँदा
तिमीलाई ऐंठन हुन्छ कि हुँदैन ? हेर्न आएको थिएँ
तिम्रो छाती कत्तिको फराकिलो छ, छाम्न आएको थिएँ
तिम्रो शिर कत्तिको उँचो छ, नाप्न आएको थिएँ
के थाहा हामीलाई ?
शिर छुट्टिएको गिँड हेरेर फर्कनुपर्छ !

२. युगको जालो

– प्रभाती किरण

झोसेर आगो घर पोल्छ सत्ता
बुझ्दै छ न्यायालयबाट भत्ता
सन्त्रास बढ्दो छ कि न्याय ढल्छ
चिम्लेर आँखा जब शक्ति चल्छ ।

पिएर आगो जल पोख्छ कल्ले ?
खित्का उसैको बल जोख्छ कल्ले ?
बिर्सन्छ आफ्नो जब मूल थान
फुत्किन्छ सिङ्गो युगको कमान ।

कुल्चेर निर्धा सपना निमोठ्दै
थिचेर आस्था मुटुमा चिमोट्दै
समृद्धि फल्ने वटवृक्ष कस्तो
भूवा उडेझैं छ कपासजस्तो !

युवा लघारी परदेश पोस्छ
उन्मत्त भै शासक नीति खोस्छ
उघ्रन्छ कैले नभ फाट्छ कालो
देखिन्छ आँखाभरि नित्य जालो ।

मर्दै छ आशा अझ लोकतन्त्र
थुनेर घाँटी छ भन्यो स्वतन्त्र
बर्सेर आँखा सपना बिलायो
रुँदै छ आत्मा सरकार लाग्यो ।

गोली निलेका उरबाहु हाम्रा
तिमी हिँडेका पथ आङ हाम्रा
हौं शक्ति हामी झुपडी कटेरो
उधार्न सक्ने जगको अँध्यारो

थियौं कतै भित्र र योजनामा ?
मान्छे बनी बाँच्नु छ कल्पनामा
पोलेर आफ्नो गुँड भोज खाँदा
जाँदैन जाडो पुष एक जाँदा ।

लिस्नो बनायौ उधिनेर हाड
लौरो भुल्यौ पारि पुगेर आज
पोतेर कालो मनभित्र बाज
चल्दैन यस्तो असुरी निसाफ ।

(छन्द : उपजाति)

३. यात्राको झोला

– विश्व सिग्देल

राखेर थपक्क
रातको ऐंठनलाई पिँधमा
दिनको रस्साकसीलाई बीचमा
बिहानीको बैजनी सपनालाई
झोलाको सबभन्दा माथिल्लो भागमा
हामीले सँगै यात्राको झोला कसेका थियौं ।

अझै,
यात्रामा समेट्नुपर्ने धेरै सामान
भुईंमा असरल्ल थिए
मैले दिएको पस्मिनाको गलबन्दी
तिमीले दिएको नीलो स्वेटर
बाटाको खाजा
रहरको पुतली
भित्री वस्त्रको चाङ
स्याम्पु, आइलाइनर, मस्करा, हाइलाइटर
रङ्गीबिरङ्गी मोजाहरू
अझै बाँकी थिए
महत्त्वपूर्ण कागजातका सङ्कलन
केही आवश्यक औषधिहरू

झोलामा सिङ्गै घर अटाउने तिम्रो अड्डी
तिमी जहाँ, घर त्यहीँ हुने मेरो रुमानी स्वभाव
र यात्राको हतारो

अब तिम्रा सामान–अब मेरा सामान
हाम्रा सामान भएर
भरिन थाले झोलाहरू

डिसेम्बरको चिसो साँझ
हाम्रा हातहरू मायाको न्यानोमा घुल्दै थिए
र निस्केका थियौं हामी यात्रामा

चुलीमाथि चुली
डाँडामाथि अर्को डाँडा
त्यसमाथिको अनन्त क्षितिज
थकान र नयाँ बिसौनीको आकर्षण

हामीले
गर्नुपर्ने त पहिला
मनदेखि मनसम्मको यात्रा रहेछ

यसरी बीच बाटोबाट
आ–आफ्ना कसिएका झोलाहरू बोकेर
पुनः फर्कनु
वा रूमलिनु कतै
मानिसको नियति हुनु नौलो नभएपनि
मायाको नियति हुनु
कुनै पनि कोणबाट सुन्दर थिएन

अब तिमी छैनौ
यात्रा छैन
फुर्सदमा
म खोतल्दै छु यात्राको झोला
र झोलामा
मेरा सामानभन्दा बढी
तिम्रा सामान भेट्छु
तिम्रो गन्ध, तिम्रो बास्ना
जो खोपिएको छ मेरो झोलामा
जो पखालिएको छैन
कैयन झरी र हिउँदका हिमपातले

जीवनका बेफुर्सदीबीच
तिमीलाई झोला खोतल्ने फुर्सद होला÷नहोला
सोची बस्छु म !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?