Comments Add Comment

टिकटक एप अमेरिकी कम्पनीलाई बिक्री गर्न ट्रम्पको अल्टिमेटम

२० साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरिङ एप टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न सेप्टेम्बर १५ सम्मको अल्टिमेटम दिएका छन् । सोमबार उनले ह्वाइट हाउसमा बोल्दै उक्त मितिसम्ममा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरे अमेरिकी प्रशासनले उक्त एपमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

ट्रम्पले टिकटक किन्न इच्छुक देखिएको माइक्रोसफ्टको खरिद सम्झौतालाई आफूले अनुमति दिने पनि बताएका छन् । यसअघि ट्रम्पले टिकटकमाथि प्रतिबन्धको चेतावनी दिँदै आएका थिए । चिनियाँ कम्पनीको स्वामित्वमा रहेको कारण अमेरिकामा टिकटकको प्रयोगले राष्ट्रिय सुरक्षाको जोखिम बढेको अमेरिकी सांसद र ट्रम्प प्रशासनका सदस्यहरुले बताउँदै आएका छन् ।

ट्रम्प प्रशासनले टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न दबाव दिइरहेको समयमा आइतबार माइक्रोसफ्टले पनि टिकटक खरिदको प्रस्ताव गरेको छ । एक विज्ञप्ति जारी गर्दै माइक्रोसफ्टले आफूले टिकटक खरिद सम्झौता सेप्टेम्बर १५ भित्रै सकाउन प्रयास गरिरहेको बताएको छ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्ने निर्णय पनि मान्य नहुने बताएका थिए । तर, माइक्रोसफ्टका सीईओ सत्य नडेल्लासँगको छलफलपछि भने ट्रम्प केही नरम देखिएका हुन् । ट्रम्पले टिकटक मायक्रोसफ्टले खरिद गर्दा अमेरिकी अर्थ मन्त्रालयलाई पनि यो खरिदको केही हिस्सा रकम भुक्तानी दिनुपर्ने बताएका छन् ।

टिकटकले भने अमेरिकामा आफ्नो १० करोडभन्दा धेरै प्रयोगकर्ता रहेको र अमेरिकामा लामो समय व्यवसाय गर्ने चाहना रहेको उल्लेख गरेको छ ।

स्रोत : बिजनेस इन्साइडर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment