+
+

पटिहानी रिसोर्ट सञ्चालनमा ल्याउने तयारी

सुवास पण्डित सुवास पण्डित
२०७७ साउन २४ गते ११:१४
निर्माणाधीन पटिहानी रिसोर्ट

२४ साउन, चितवन । देशकै तेस्रो पर्यटकीय केन्द्र चितवनको दोस्रो ठूलो पर्यटकीय गन्तव्य मानिन्छ पटिहानी । चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको पटिहानी क्षेत्रमा पछिल्लो समयमा होटलहरु खोल्ने र लगानी गर्ने क्रम बढेको छ । महंगा पर्यटकहरु पटिहानीमा आउने गर्दछन् ।

यिनै पर्यटकहरुलाई लक्षित गरी भरतपुरबाट १६ किलोमिटर दक्षिणमा रहेको पटिहानीमा चार बिघा जग्गामा पाँच तारे स्तरको पटिहानी रिसोर्ट निर्माण भैरहेको छ । चितवनका २२ जनाको झण्डै ६५ करोड लगानीमा बनिरहेको रिसोर्ट अंग्रेजी नयाँ वर्षको जनवरीबाट सञ्चालन गर्ने योजना बनेको पटिहानी रिसोर्ट प्रा.लिका अध्यक्ष कल्याण जोशीले जानकारी दिए ।

‘हामीले गएको वैशाखबाट नै रिसोर्ट सञ्चालन गर्ने भनेका थियौं, तर कोरोना भाइरसको संक्रमण र सरकारले गरेको लकडाउनले समयमा काम गर्न सकिएन,’ अध्यक्ष जोशीले भने, अहिले कामदार थप गरी अंग्रेजी महिनाको पहिलो महिनाबाट सुरु गर्ने योजना बनाएका छौं ।’ रिसोर्टको ८५ प्रतिशतभन्दा बढी काम सकिएको अध्यक्ष जोशीले जानकारी दिए । रिसोर्ट सिनर्जी विल्डर्सले र इन्टरेरियरको काम हाउस अफ इन्टेरियरले गरिरहेका छन् ।

हेलिप्याडको सुविधासहित बन्न लागेको रिसोर्टको ठूलो भवनमा ४० कोठा र ७ वटा भिल्ला छन् । दुईवटा स्वीट रुमसहितको भिल्ला हुनेछन् भने बाँकी ५ वटा पारिवारिक भिल्ला रहनेछन् ।

रिसोर्टमा तीन सय जना अट्ने एक, एक सय जना अट्ने दुई र ५० जना अट्ने तीन वटा हल रहनेछन् । पछि पाँच तारे होटलको स्तरमा लैजानका लागि ८० कोठा पु¥याउने र सोही अनुसारको पूर्वाधारमा अहिले काम भैरहेको रिसोर्टका प्रवन्ध निर्देशक ऋषिराम न्यौपानेले जानकारी दिए । ‘अहिले हामी तत्कालै पाँच तारेको स्टाण्डर्डमा त जाँदैनौं, तर छिट्टै जान्छौं, पाँच तारेमा जाने गरी मापदण्ड सोही अनुसार बनाएका छौं,’ न्यौपानेले भने, ‘कोठा भित्र नै फायर स्प्रिङकल, स्मोक डिटेक्टर लगायतका पाँच तारे होटलको सबै मादपण्ड पूरा छ ।’

रिसोर्टमा मसाज रुम, स्पा, साउना बाथ, ओपन पाटी गर्नका लागि प्रयाप्त खुल्ला क्षेत्र लगायतका सुविधा पनि रहने रिसोर्टका लगानीकर्ताहरु बताउँछन् ।

झण्डै १ बिघा जग्गामा रिसोर्टले अर्गानिक तरकारी खेती गर्ने योजना पनि बनाएको छ ।

भरतपुर महानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा नै पर्यटकीय केन्द्र पटिहानी, चितवन राष्ट्रिय निकुञ्ज, माडी–ठोरी हुलाकी मार्ग रहेकोले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी रिसोर्टमा लगानी गरिएको अध्यक्ष जोशीको भनाइ छ । पछि क्यासिनोसमेत चलाउने गरी सञ्चालनमा ल्याउन लागिएको रिसोर्टले चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, हात्ती सफारी, जंगल वाक, बर्ड वाचिङ, फिसिङ, इलिफेन्ट बाथिङ लगायतका सेवा दिने प्रवन्ध निर्देशक ऋषिराम न्यौपानेले बताए । रिसोर्टमा एक सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने न्यौपानेले बताए ।

पटिहानीमा होटल जंगल भिल्ला, कसरा रिसोर्ट, इन टू दी वाइल्ड इको रिसोर्ट, नारायणी सफारी लगायतका चार ठूला होटल सञ्चालनमा छन् । पटिहानी रिसोर्ट निर्माणपछि ठूला होटलको संख्या पाँच हुनेछ । अर्को ठूलो रिभर बैंक जंगल रिसोर्ट बनिरहेको छ । यहाँ साना होटल २५ वटा छन् । यहाँका ठूला होटलमा वार्षिक २५ हजार पर्यटक आउने गरेको तथ्यांक छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?