+
+

कोरोनाभन्दा नेकपाको भाइरसले दुःख दियो : मुख्यमन्त्री गुरुङ

अमृत सुवेदी अमृत सुवेदी
२०७७ साउन २७ गते २०:५५

२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर सरकारका कारण देशले दुःख खेपेको र अहिले सरकार परिवर्तन गर्दा लोकतन्त्र र राष्ट्रियतामाथिकै प्रहार हुने उनले बताए ।

नेपाल आदवासी जनजाति पत्रकार महासंघ, गण्डकीले मंगलबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले भने, ‘अहिले हामी संक्रमण नै संक्रमणमा छौं, अत्यास नै अत्यासमा छौं । तर कोरोनाले भन्दा पार्टीको भाइरसले दुःख दिइराछ ।’

जनताले कम्युनिस्ट पार्टीलाई ५ वर्षसम्म सरकार सञ्चालनको जिम्मेवारी दिएको मुख्यमन्त्री गुरुङले बताए । ‘सरकारको कमजोरी छ भने छलफल गर्ने हो, तर सानो गल्तीमा सरकार फेरेर जनताको जनमतको अपमान गर्ने अधिकार कुनै नेतालाई छैन,’ उनले भने, ‘हाम्रो पार्टीलाई पनि छैन, हाम्रो नेतालाई पनि छैन ।’

अहिलेसम्मका आम निर्वाचन र सरकार सञ्चालनमा भएको अस्थिरताबाट सिक्दै यो सरकारलाई ५ वर्ष सञ्चालन गर्न दिनुपर्ने मुख्यमन्त्रीले जोड दिए । ‘१५ सालमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्‍यो, तर ५ वर्ष सरकार सञ्चालन गर्न सकेन । ४८ सालमा फेरि कांग्रेसले बहुमत प्राप्त गर्‍यो तर, अहिले नेकपामा जस्तै झगडा कांग्रेसमा भयो । ५१ सालमा कसैले बहुमत ल्याउन सकेन । ०५६ मा कांग्रेसको फेरि बहुमत आयो, तर झगडाले पूरा सरकार सञ्चालन गर्न सकेन,’ मुख्यमन्त्री गुरुङले भने, ‘७४ सालमा आएर बल्ल कम्युनिस्टले बहुमत ल्यायो । २ वटा पार्टी एकता भयो । त्यसकारण इतिहास रच्ने हो भने कुनै दायाँ बायाँ नगरी यो सरकारलाई सरकार सञ्चालन गर्न दिऊँ ।’

कम्युनिस्टले मात्र बहुमतको सरकार टिकाउन सक्यो, लोकतन्त्र, गणतन्त्रको जग बसाल्न सक्यो, समाजवादको यात्रा तय गर्न सक्यो भनेर देखाउने बेला आएको उनले बताए । सरकारले सिमाना बचाउने, नक्सा जारी गर्ने जस्ता ऐतिहासिक काम गरेको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘तर अहिले नेकपामा जुन खालको भाइरस लागेको छ, यो भाइरसबारे अनुसन्धान गरी खोप निर्माण गर्न जरुरी छ ।’

नेपालमा कुनै पनि पार्टी विवादरहीत नरहेको र नेताहरुले विवादमात्रै गर्ने संस्कार बसालेको उनले बताए । यस्तो राजनीतिक संस्कारको ओखति माक्सवाद थियो तर यो नेपालमा काम नलाग्ला जस्ता पो भइसक्यो,’ मुख्यमन्त्री गुरुङले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?