३ भदौ, काठमाडौं । नेदरल्याण्ड्सका रोनाल्ड कोएमन स्पानिस जायन्ट बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका छन् ।
बार्सिलोनाले बुधबार क्लबका पूर्वखेलाडी समेत रहेका कोएमनलाई प्रशिक्षक नियुक्त गरेको हो । मुख्य प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेपछि बार्सिलोनाले कोएमनलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
कोएमन नेदरल्याण्ड्सको राष्ट्रिय टिम छाड्दै बार्सिलोनाको प्रशिक्षक बनेका हुन् । कोएमन २०१८ देखि नेदरल्याण्ड्सको प्रशिक्षकको भूमिकामा थिए ।
बार्सिलोनाले कोएमनसँग २ वर्ष सम्झौता गरेको छ । अब उनी २०२२ जुन ३० सम्म क्याम्पनोउमा रहनेछन् ।
क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले मंगलबार राति नै आफूले कोएमनलाई प्रशिक्षकको रुपमा चयन गरिसकेको बताएका थिए ।
कोएमनले बार्सिलोनाको सहायक प्रशिक्षक बन्दै प्रशिक्षण करियर सुरु गरेका थिए । त्यसपछि उनी सन् १९९८-९९ मा बार्स बी टिमको प्रशिक्षकसमेत बने । त्यसअघि खेलाडीको रुपमा उनले बार्सिलोनामा ६ वर्ष बिताए । योहान क्रुपको ड्रिम टिममा पनि उनी समावेश थिए ।
उनले यसअघि नेदरल्याण्ड्स स्पेन र इंग्ल्याण्डमा विभिन्न क्लबको प्रशिक्षक सम्माहालिसकेका छन् । यसअघि उनले स्पेनमा भ्यालेन्सियाको प्रशिक्षकको रुपमा काम गरेका थिए ।
प्रतिक्रिया 4