+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

 कहिले निको होला बारेकोटको घाउ ?

भत्किएको घर हेर्दै टोलाउँदै छन् पहिरो पीडित

हेमन्त केसी/रासस हेमन्त केसी/रासस
२०७७ भदौ १६ गते १७:३३

१६ भदौ, जाजरकोट । चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट !

पूर्वमा डोल्पा, उत्तरमा जुम्ला र पश्चिममा रुकुम पश्चिम रहेको बारेकोट जैविक विविधता र कैयौँ औषधीय मूल्य भएका जडीबुटीको पनि भण्डार नै हो ।

तर जाजरकोट जिल्लाको बारेकोटको यो परिचय गत असार २५ गतेको पहिरोले पूरै फेरिदिएको छ । प्रकृतिले यसरी सिंगारेको बारेकोटको सुन्दरता प्रकृतिले नै लुटिदिएको छ । यतिखेर हेर्दा लाग्छ बारेकोटको सुन्दर मुहार बाढीले कुरुप बनाइदिएको छ । बाढीले यसरी बढारिदियो कि यहाँको कुनै पनि वडा सग्लो छैन, जताततै घाउखत देखिन्छ । यति राम्रो स्थान बारेकोटका बासिन्दा अहिले भने गहँभरि आँसु पारेर बसेका छन् । आफ्नो थातथलोप्रतिको माया उनीहरुले आँसु झारेर प्रकट गरिरहेका छन् ।

पुस्तौँसम्म कमाएको जमिन र आफू बसेको घरबास एकाएक ढलेपछि सबै उमेर समूहका मानिस अग्ला डाडा र जङ्गलमा त्रिपालको सहारामा दुःखका दिन काटिरहेका छन् । बारेकोट गाउँपालिका-५ का जनकबहादुर शाही भन्छन्, ‘हामीले मनाउने देवी (बाँचिलो) रिसाएर हामीमाथि यतिठूलो बज्रपात भयो कि ? हामीले प्रकृतिमाथि अन्याय गरेका कारण हामीलाई पनि प्रकृतिले नै यो दण्ड दिएको त होइन ?’

बाह्रवटा कोट मिलेर बारेकोट बनेको यस भूमिको महत्व जिल्लाका अन्य ठाउँकोभन्दा बढी रहेको मानिन्छ । तल्लो भागअर्थात् बेँसीदेखि हिमालसम्म जोडिएको यस ठाउँमा सबै खालको हावापानी पाइने गर्दछ । विश्वमै लोपोन्मुख रेडपाण्डादेखि सुनगिद्ध र चिरकालिजको बासस्थान यही बारेकोटमा पर्दछ । डोल्पा र जुम्ला जान अत्यन्तै छोटो दूरी रहेको बारेकोटलाई पहिरोले छियाछिया बनाउँदा अब पुनःनिर्माणको लागि सबै तहका सरकारको सहयोगका लागि यस ठाउँले याचना गरेको छ ।

करिब ४१७ मेगावाट जलविद्युत् आयोजनाको बाँधस्थलसमेत यही रहेको छ । जाजरकोटको पर्यटकीय क्षेत्र सबैभन्दा बढी बारेकोटमै पर्दछन् । त्यही प्रकृतिको माया गर्ने अनि संरक्षण गर्ने सर्वसाधारण भने अहिले प्रकृतिकै रिसाहा व्यवहारले वर्षाको झरीसँगै खुल्ला आकाशमा त्रिपालको सहारामा बाँच्न बाध्य छन् ।

त्यस पहिरोमा परी एक हजार २०० भन्दा बढी घर भत्किएका छन् । १२ करोडभन्दा बढीको धनजनको क्षति भएको छ । तीर्थव्रतको लागि ठाकुरज्यू जाने बाटोदेखि एक गाउँबाट अर्को गाउँ जाने बाटो भत्किँदा धन्नधन्न बाँचेको ज्यान फेरि पनि मरिन्छ कि भनी मन चसक्क गर्दै पानी, घट्ट र भत्किएका घर हेर्न जानुपरेको बारेकोट-४ का अने सार्कीले बताए ।

बाढीले एक हजारभन्दा बढी घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । अहिले उनीहरु खुला भल पानी पिउन बाध्य भएको अर्का स्थानीय परिमल कार्कीले पीडा पोखे ।

भत्किएको घर हेर्दै टोलाउँदै 

असार २५ भन्दा अघि घरमा बसेर रमाएका छोराछोरी अहिले त्रिपालको बासमा विभिन्न किराले टोक्दा रुँदै कराउँदै बाबाआमालाई गुनासो गर्छन् । तर बाबा आमासँग पनि समाधान के नै छ र ?

उनीहरु घर सम्झँदै फेरि छोराछोरीसँगै बरर आँसु झार्छन् । अहिले बारेकोट गाउँपालिकाभित्रका एक हजार २०० भन्दा बढी सर्वसाधारणको खास व्यथा हो यो । ‘अभिभावकले कति दिन बालबालिकालाई भोलि घर जाउँला भनी ढाँट्ने ?’ लालाबालाका प्रश्नले आफूहरु हैरान भएको तलकोटका भीमबहादुर सिंहले बताए ।

सानो त्रिपालमा एक हजार २०० भन्दा बढी घरपरिवार बस्नुपरेको उनको गुनासो छ । ‘खाना पकाउने, खाने र सुत्ने ठाउँभन्दा शौचालय धेरै टाढा छैन । जङ्गलमा जथाभावी दिशा गर्दा फोहोर बढेको छ । न गतिलो बास, न त गतिलो खाना । कति दिन चल्ला यसरी ?’ अर्का स्थानीय प्रेम सिंहले पीडा सुनाउए ।

‘मान्छेको जिन्दगीमा दुःख यसरी पनि आउँदोरहेछ’, उनी आँसु थाम्न सक्दैनन् । तीन तलाको सबैभन्दा ठूलो घर थियो उनको । रमाएर बसेका थिए घर परिवार । तर अहिले त्यो सबै पहिरोसँगै आधाभन्दा बढी त बगिसकेको छ । ‘अहिले सबै गाउँलेसँग त्रिपालमा छु । घर बनाउँदा नखाई, नलगाई काम गरेर घर निर्माण भयो तर दुई वर्ष नबित्दै त्रिपालको बास भयो’, उनले भने । घर बनाउदा जग कति बलियो छ भन्नेतर्फ ध्यान नदिँदा अहिले बर्बादी भएको उनको भनाइ छ ।

बारेकोट यहाँका स्थानीयको भूमि मात्र नभएर यस क्षेत्रका सबै समुदायकै साझा सम्पत्ति भएकाले बारेकोटको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान छिटो जानुपर्ने स्थानीयको माग छ ।

सडक बनाउन माग

पहिरोका कारण थिलथिलो भएको बारेकोटमा आवश्यक खाद्यान्नलगायका अन्य सामग्री ढुवानी गर्न तत्काल सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । हिउँदयाममा बारेकोटको प्रशासकीय केन्द्र लिम्सा पुगेको यातायात सेवा अहिले नलगाड नगरपालिकाको कालीमटी सम्मा थन्किएको छ ।

जाजरकोट सदरमुकामबाट ७२ कोष उत्तरपूर्वमा रहेको बारेकोट लिम्सासम्म सडकमा हलुका सवारी साधन मात्र सञ्चालन भएमा बारेकोटमा परेको समस्या हल गर्न सकिने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

अहिले घोडा, खच्चडमा मात्र मुस्किलले ढुवानी गरिएको र केही सामग्रीले समस्या टार्ने काममात्र भएको उनको भनाइ छ । ढुवानी गरिएको बस्तुभन्दा झण्डै दोब्बर भाडा तिरेर अत्यावश्यक सामग्री लिनुपरेको बाध्यता शाहले सुनाए ।

वर्षाको भल पानी पिउँदै पीडित

बाढी र पहिरोले पानीका मुहानसँगै पाइप लाइपलाइन बगाउँदा बारेकोटवासी वर्षाको भल भएर बगेको फोहोर पानी पिउन बाध्य भएका छन् । ‘भलको पानी नखाए के खानु ? पानी ल्याउने माध्यम केही छैन । न त पानी शुद्ध गर्ने केही औषधि पुगेको छ न अर्काे कुनै विकल्प नै छ’, बारेकोट गाउँपालिका-५ कालाखोलीका हिमाल विकले बताए ।

‘माननीयज्यू आएर तत्काल खानेपानीको व्यवस्था हुन्छ भनेर जानुभएको हो, महिना दिन बितिसक्दा पनि केही व्यवस्थापन हुन सकेको छैन,’ उनले अघि भने, ‘त्रिपालको बास छ, मनभरि पीडा छ । जहाँ हेरेपनि मन बुझाउने ठाउँ भेटिँदैन ।’ दुई हजारभन्दा बढी घरपरिवार शुद्ध पानीबाट वञ्चित भएको स्वास्थ्य तथा सरसरफाइ शाखा बारेकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको काम नै प्रभावित

पहिरोबाट एक, गाउँबाट अर्को गाउँमा जानका लागि समस्य भएपछि गाउँपालिकाको सबै काम सुचारु गर्न मुस्किल भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए ।

मुख्य कुरा सडक नै अवरुद्ध छ, पहिलो चरणमा पीडितको तथ्याङ्क लिने काम मात्र भएको अधिकृत सिंहले भने । त्यस्तै गाउँपालिकाले खरको छाना हटाउने भनेर गरेको बोलपत्र आह्वानको काम समेत अधुरै रहेको छ । खाद्यान्न, औषधि ढुवानीको काम प्रभावित भएको छ । अहिले विस्थापित परिवारकहाँ समय मिलाएर स्वास्थ्यकर्मी पठाएको सिंहको भनाइ छ । पीडितका लागि विभिन्न निकायले गरेको सहयोग सडक निर्माण नभएका कारण सम्बन्धित ठाउँमा पुर्‍याउन हम्मेहम्मे परेको छ । ठाउँ ठाउँमा खोला, नाला बढेका कारण कामकारवाही सक्रिय बनाउन मुस्किल परेको छ ।

गर्भवती, सुत्केरी र बालबालिकाको विचल्ली

विस्थापित भएर त्रिपालमा बसिरहेका बारेकोट गाँउपालिकाका विभिन्न बस्तीका बासिन्दा चरम खाद्य सङ्कटको चपेटामा परेका छन् । खाद्यान्न नहुँदा सयौँ परिवार भोकभोकै परेका छन् ।

नयाँ बाली पाकेको छैन । गाउँमा किनेर खाने अन्न पाइँदैन । अहिलेसम्म सरकारले राहत दिएको छैन, के आएर बाँच्ने ? यीनै हुन् स्थानीयका गुनासोहरु । बारेकोट- ४ कि पार्वती सार्कीले भनिन्, ‘हामी साह्रै समस्यामा छौँ, पहिरोलेभन्दा भोकले मरिएला जस्तो छ ।’

‘पहिरोको त्रासले घर छोडेर त्रिपालमा बसेको महिना दिनभन्दा बढी भइसक्यो त्यति बेलादेखि नै पेटभर खान पाइएको छैन,’ उनले पीडा पोख्दै भनिन्, ‘केटाकेटी भोक लाग्यो भन्छन्, के खुवाउँ ? घरमा खानेकुरा केही छैन ।’

ठूलो पानी पर्दा अहिले पनि निकै त्रसित हुन्छन् गाउँले गाउँ नै बगाउँछ कि भन्ने डरले । त्रिपालमा बसेका भन्छन् , ‘राम्रोसँग नसुतेको र नखाएको तीन हप्ता भइसक्यो ।’

‘आफूसँग पैसा पनि छैन । पैसा भए पनि किनेर खाने अन्न पाइँदैन’, जनकबहादुर शाहीले समस्या सुनाउँदै भने । ‘राहत पाउँला भन्ने आसमा थियौँ तर अहिलेसम्म राहत पाइएन भुमाका कमल चलाउनेले गुनासो सुनाउँदै भने, ‘हाम्रो पीडा सुनिदिने कोही भएन ।’ उनी मात्र होइन धेरै विस्थापित परिवार भोकभोकै बस्न बाध्य छन् ।

बारेकोट गाउँपालिकाका अनुसार गत २५ असारमा बारेकोट-४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । बाढी पहिरोका कारण एक हजार ५५ परिवारका छ हजार पाँच सय सात जना विस्थापित भएका छन् । यहाँका ५६ घर भत्किएका छन् । केही विस्थापित परिवार नजिकैको खाली जग्गामा त्रिपाल टाँगेर बसेका छन् भने केही विद्यालयमा आश्रय लिएका छन् ।

वर्षात् रोकिएको छैन । विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन् । केही संस्था र व्यक्तिले दिएको सीमित राहतले ठूलो सङ्ख्यामा विस्थापित परिवारलाई हात्तीको मुखमा जिरा भएको छ ।

पोषणयुक्त खानाको अभावमा त्यस क्षेत्रका सुत्केरी, गर्भवती र बालबालिका निकै जोखिममा रहेका छन् । पोषणयुक्त खानेकुरा खान नपाउँदा उनीहरु कुपोषणको शिकार हुने खतरा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

‘पेट भर्न त पाएका छैनन् पोषणयुक्त खानाको के कुरा” स्वास्थ्यकर्मी कल्पना रोकायले भने, ‘घरको बालीनाली बाढीपहिरोले छियाछिया पारेको छ । आयस्रोत छैन । पर्याप्त मात्रमा खानेकुरा पनि छैन । यहाँ न फलफूल पाइन्छ, न तरकारी र दही दूध नै । जसका कारण धेरै बालबालिका, गर्भवती र सुत्केरी महिला कुपोषणको शिकार हुने खतरा बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?