Comments Add Comment

फुटपाथ व्यापार बन्द गर्न महानगरपालिका र मझौला व्यापारीको माग

२६ भदाै, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन साता लामो निषेधाज्ञा खुकुलो बनाउँदै फुटपाथ र ठेलाको व्यवसाय पनि खुल्ला गरेको छ ।

प्रशासनको कार्यालयको आदेशको बुँदा नम्बर १० मा फुटपाथ व्यापार ठेला स्टेसनरी, विद्युतीय सामाग्री तथा डिपार्टमेन्ट स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खुल्ला गर्न पाइने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयको यस्तो निर्णय लगत्तै काठमाडौं महानगरले फुटपाथ सञ्चालनको आदेशमा आपत्ति जनाएको छ । शुक्रबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं जिल्ला प्रशासनलाई एक ध्यानाकर्षण पत्र पठाएर आदेश फिर्ता लिन आग्रह गरेकी छिन् ।

ठेला र तथा फुटपाथ व्यवसायले महानगरभित्र कोरोना संक्रमण समूदाय तहसम्म फैलन सहयोग गर्ने र कन्ट्याक ट्रेसिङ गर्न नसकिने उपमेयर खड्गीले पत्रमा भनेकी छिन् ।

जसरी पनि उक्त व्यवसाय सञ्चालनको आदेश फिर्ता गर्न महानगरले काठमाडौं जिल्ला प्रशासनलाई आग्रह गरेको छ । ठेला र फुटपाथ व्यपारीले स्वास्थ्य मापदण्ड अपनाउने सम्भावना कम रहेको उपमेयरको पत्रमा उल्लेख छ ।

व्यापारी पनि फुटपाथको विरोधमा

जिल्ला प्रशासनमा महानगरको ध्यानाकर्षणपत्र आउनु अघिल्लो दिन नै नेपाल राष्ट्रिय व्यवसायी महासंघ आवद्ध व्यवसायीले फुटपाथ व्यवसाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र केही वडा कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका थिए ।

कोभिड-१९ पीडित व्यवसायीलाई राहत माग्न भनेर आएको टोलीले फुटपाथ खोल्ने निर्णय सच्याउन विशेष जोड दिएको जिल्ला प्रशासन स्रोतले बतायो ।

बानेश्वरका व्यवसायीहरुले पनि आफ्नो क्षेत्रको दुई वटा वडाहरु १० र ३१ मा फुटपाथको निर्णय उचित नभएको सहितको मागपत्र बुझाएको बताएका छन् ।

भाडा तिरेर बस्नेलाई प्रभावित हुनेगरी काठमाडौं सिडिओले फुटपाथ खोलेपछि त्यसो नगर्न आग्रह गरिएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष रामशरण गिरीले बताए ।

‘मँहगो भाडा तिर्ने, निषेधित क्षेत्रमा धर्ना, आन्दोलन र बन्द सहेर राज्यलाई कर तिर्ने हामी तर सित्तैमा व्यापार गर्ने ठेला र फुटपाथ यो निर्णय ठीक छैन,’ अध्यक्ष गिरीले भने ।

बानेश्वर क्षेत्रका दुवै वडा अध्यक्षहरुले पनि फुटपाथ व्यापार निषेध गर्ने महानगरको कदमविरुद्ध प्रशासनको आदेश आएको प्रतिक्रिया दिएको संघका अध्यक्ष गिरीले बताए ।

‘सडकका मान्छे पनि बाँचुन्’

निषेधाज्ञा आदेशमा आएका निर्णयबारे धेरै टिका टिप्पणी तथा बहस भएको र यो स्वभाविक रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

लकडाउन र निषेधाज्ञाले निकै असर परेका मानिसले जीविकोपार्जन गरुन् भनेरै फुटपाथ र ठेलाको व्यवसाय खुल्ला गरिएको साहायक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले बताए ।

राज्यका कुनै एकतप्कालाई मात्रै फाइदा हुनेगरी प्रशासनले निर्णय नर्गने भन्दै उनले फुटपाथ खुल्दैमा कसैले चित्त दुखाउनुनपर्ने बताए ।

‘कमजोर आय भएका सार्वसाधरण हातमुख जोड्नबाट बिमुख नहुन भन्ने चाहना कसरी गलत हुन सक्ला,’ सहायक प्रमुख जिल्ला अधिकारी दुलालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment