Comments Add Comment

उपत्यकामा व्यापार व्यवसाय खुला, यातायातमा जोरबिजोर यथावत

३१ भदौ, काठमाडौं । उपत्यका प्रशासनले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरलाई बताए ।

यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको प्रजिअ दाहालले बताए । उनका अनुसार खुला स्थानमा भिडभाड गर्न भने निषेध नै गरिएको छ ।

प्रशासनले बिहीबार एक सूचना समेत जारी गर्दै खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न निषेध गरिएको भनेको छ । जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको छ ।

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ । त्यसबाहेक अन्य सेवा सुचारु रहने भनिएको छ ।

हेर्नुस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment