३ असोज, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
‘डा. केसीका माग पुरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । भौतिक दुरी कायम गर्न भन्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।
डा. केसी नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत छन् ।
१९औं पटक अनुसन बसेका डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन् ।
नेपाल चिकित्सक संघले शुक्रबार डा. केसीका माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको थियो ।