Comments Add Comment

सन् २०६० सम्म कार्बन उत्सर्जन र खपत बराबर बनाउने चीनको योजना

७ असोज, काठमाडौं । चीनले सन् २०६० सम्म मुलुकमा कार्बन उत्सर्जन र खपतबीच सन्तुलन कायम गर्ने योजना अघि सारेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा सन् २०३० सम्ममा कार्बन उत्सर्जन सबैभन्दा उच्च विन्दुमा पुग्ने र त्यसपछि विस्तारै घट्न थाल्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको साधारण सभामा बोल्दै चिनफिङले यस्तो घोषणा गरेका हुन् । जलवायु परिवर्तनविरुद्ध चीनले गरेको यो घोषणालाई निकै महत्वपूर्ण मानिएको छ । चीन अहिले विश्वको कार्बनडाइअक्साइड उत्सर्जनको सबैभन्दा ठूलो स्रोत हो । अहिले चीनबाट विश्वभर उत्सर्जन हुनेमध्ये करिब २८ प्रतिशत कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ ।

चिनियाँ राष्ट्रपति चिनफिङले सबै मुलुकलाई वातावरणमा जलवायु सुधारका लागि अघि बढ्न आग्रह गरेका छन् । यसअघि चीनले सन् २०३० सम्ममा चीनको कार्बनडाइअक्साइडको उत्सर्जन उच्च विन्दुमा पुग्ने बताउँदै आएको थियो । तर, दीर्घकालका लागि भने उसले कुनै पनि योजना ल्याएको थिएन । यस्तो अवस्थामा चिनफिङले महत्वपूर्ण घोषणा गरेका हुन् ।

विश्लेषकहरुका अनुसार पछिल्लो समय अमेरिकाले वातावरणको मुद्दामा खासै चासो नदिएको कारण चीनले त्यसको फाइदा उठाइरहेको बताएका छन् । यसअघि सन् २०१४ मा चिनफिङ र त्यतिबेलाका अमेरिकी समकक्षी बाराक ओबामाबीच जलवायु सम्झौता भएको थियो । जुन सम्झौता सन् २०१५ मा भएको पेरिस सम्झौताका लागि महत्वपूर्ण बनेको थियो । यद्यपि अमेरिकामा डोनाल्ड ट्रम्प आएपछि भने उनले जलवायु सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment