
२० असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्ताव पारित भएको असोज २० गतेलाई कालो दिनका रुपमा मनाउने नेपाली कांग्रेस रुपन्देहीले निर्णय गरेको छ ।
मंगलबार प्रदेश सभा बैठकबाट दुई तिहाई बढी मतले दाङ राजधानी बनाउने प्रस्ताव पास गरेपछि नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेको हो ।
पार्टी सभापति अब्दुल रज्जाकले निकालेको विज्ञप्तिमा मंगलबार साँझ ७ बजेदेखि आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन अपिल गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेका मध्ये ६ वटा प्रदेश यथास्थानमा कायम भएका छन् । प्रदेश ५ को राजधानी मात्रै दाङ सार्नुले जनताको भावनामा गहिरो चोट पुर्याउने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । व्यापक विरोध र जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चँदै सरकारले दुई तिहाईको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजधानी सार्ने निर्णय गर्ने पार्टी र सरकार तथा यसका पक्षधरहरुविरुद्ध उपयुक्त मूल्याङ्कन हुने पनि विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले रुपन्देहीलाई राजधानी कायम गर्न निरन्तर आन्दोलन चलाउने र आफ्नो पार्टीको बहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत विज्ञप्तिमा उल्लेख छ ।
अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । आन्दोलनका क्रममा पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्ध पनि आन्दोलन चर्काउने चेतावनी कांग्रेसले दिएको छ ।
प्रतिक्रिया 4