Comments Add Comment

मोरङ-सुनसरीमा कोरोना संक्रमण दर उच्च

विराटनगरको कोशी कोभिड अस्पतालको आइसोलेसन ।

२३ असाज, विराटनगर । २१ असोजमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३९० नमुना परीक्षण गर्दा १९७ जनाको रिपोर्ट पोजेटिभ आयो । कोशी अस्पतालमा ४७४ नमुना परीक्षण गर्दा २८१ जनामा संक्रमण पुष्टि भयो ।

२२ असोजमा धरानमा १७४ नमुना परीक्षण गर्दा ८३ र कोशीमा १९० नमुना परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजेटिभ आयो । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ६२८ नमुना परीक्षण गर्दा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन वटा ल्याबमा दुई दिनमा परीक्षण भएका २०८७ नमुना परीक्षण गर्दा ८३७ जनामा संक्रमण देखियो । अर्थात कोरोना परीक्षणका लागि स्वाब दिएका १० मध्ये ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङ र सुनसरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कुन अवस्थामा छ भन्ने देखाउन यो तथ्यांक पर्याप्त छ । यसले कोरोना संक्रमणको अवस्था भयावह रहेको देखाउने जनस्वास्थ्यविद डा. नवराज सुब्बा बताउँछन् ।

लक्षण देखिएका अस्पतालमा

प्रयोगशालाहरुका अनुसार पछिल्लो समय पीसीआर टेष्टका लागि आउनेमा धेरैजसो लक्षण भएकाहरु नै हुन्छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले पीसीआर जाँचका लागि जानेहरु लक्षण भएका र संक्रमितको क्लोज कन्ट्याक्टमा परेकाहरु धेरै रहेको बताए । त्यसैले संक्रमण दर बढी हुनु स्वभाविक हो ।

कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख फिजिसियन डा. लक्ष्मीनारायण यादव तथ्यांक हेर्दा संक्रमणको दर नियन्त्रण बाहिर गएको देखिने बताउँछन् । उनका अनुसार अस्पतालसम्म पुग्ने अधिकांश मानिस लक्षणसहितका छन् ।

लक्षणसहितका मानिस बढ्दै जादा उपचारका लागि स्वास्थ्य संरचनाले धान्न नसक्ने उनले बताए । ‘अहिलेकै अवस्थामा बेड पाउन गाह्रो छ’ डा. यादवले भने ‘सतर्कता कमजोर छ, भोलि झन भयावह अवस्था आउनसक्छ ।’

प्रदेश १ मा बिहीबारसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ८५९ पुगेको छ, जसको आधा संख्या मोरङमा छ । मोरङमा ४ हजार ५११ र सुनसरीमा २५५८ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ८९ जनाको मृत्यु भइसकेको छ । झापामा ९६६ र उदयपुरमा १६६ बाहेक अन्य जिल्लामा दोहोरो अंकमा संक्रमित छन् ।

तर नजिकिँदै गरेको दशैंमा मानिसहरुको चहलपहल बढ्ने र यसले संक्रमण अझ बढाउन भूमिका खेल्नसक्ने जनस्वास्थ्यविद डा. नवराज सुब्बा बताउँछन् । त्यसो भएमा स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment