Comments Add Comment

कर्णालीमा अविश्वास प्रस्ताव रोक्न प्रचण्ड र नेपाल समूह छलफलमा

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

सोमबार दिनभर चलेको छलफललाई नेताहरुले आज पनि बिहानैबाट निरन्तरता दिएका हुन् । छलफलमा नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णालली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट छन् ।

तर, अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेल पक्षसँग भने छलफल हुन सकेको छैन । कँडेल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । तर, प्रचण्ड र नेता नेपाल पक्ष भने सहमति नजिक नै पुगेको स्रोतले जनाएको छ ।

नेपाल पक्ष अविश्वासको प्रस्तावबाट पछि हटे मुख्यमन्त्री शाही फेरि बहुमतमा हुनेछन् । आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ मध्ये सात जना नेता नेपाल पक्षका छन् । पूर्वमाओवादी पक्षका तीन जनालाई पनि फिर्ता गराउने प्रयास भइरहेको एक नेताले बताए । ‘केन्द्रबाट धेरै दबाब आएकाले अविश्वासको प्रस्तावबाट पछि हट्ने सम्भावना धेरै छ’, ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment