
८ पुस, बुटवल । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।
भैरहवामा सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी काम गरेको बताए ।
पार्टीका अर्का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले प्रधानमन्त्री ओली गणतन्त्र,संघीयता र धर्म निरपेक्षता विरोधी भएकाले आन्दोलनबाट प्राप्त उपलब्धी गुम्न नदिन प्रतिनिधि सभा पुनस्थापनाका लागि आन्दोलनको विकल्प नभएको बताए ।
केन्द्रीय सदस्य किस्मत विक,अतिअुल्लाह मुसलमान,जिल्ला अध्यक्ष रामअवतार यादव,सचिव सोमनाथ शर्मा लगायतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई आन्दोलनको बलबाट सच्याउन बाध्य पारिने बताए ।
यस्तै पाल्पाको तानसेन, दाङ,नेपालगन्ज लगायतका जिल्लामा पनि प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरिएको पार्टीका प्रदेश सचिव यज्ञ पोखरेलले बताए ।
प्रतिक्रिया 4