२८ पुस, पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिबारका दिन हुने भएको छ ।
मञ्चद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर)समेत हुने भएको हो ।
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद सहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड-१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए ।
उनले भने, ‘म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउन यसको भूमिका रहेको छ ।’
कोभिड-१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्र-छात्रा तथा दृष्टि विहीनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौड भने फरक-फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि बढेको बताउँदै उनले म्याराथनसँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरु तय गरेको बताए ।
पोखरा म्यारथनअन्तर्गत हुने दृष्टिविहीनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र-छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन ।
त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै ह्विल चियर महिला-पुरुष तथा दृष्टिविहीन महिला-पुरुष दौडतर्फ प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन् भने १० किलोमिटर महिला-पुरुषतर्फ विजेता खेलाडीले क्रमश नगद १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र-छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
पोखराको प्रतिष्ठित औधोगिक संस्था सफल दूधको मुख्य प्रायोजनमा हुने १५औं संस्करणको पोखरा म्याराथन सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने मञ्चले जनाएको छ ।
पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैरआवासीय नेपाली संघ युके, गैरआवासीय नेपाली संघ हङकङलगाएत अन्य उद्योग तथा व्यवसायीले सहयोग गर्ने छन भने नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने भएको मञ्चले जनाएको छ ।
पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिएका छन् ।
कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सबै पोखरेलीहरुलाई आफ्नो परम्परागत भेषभुषा तथा बाजा गाजासहित खेलाडीलाई घर आङ्गन र चोकहरुमा उभिएर स्वागत गर्न उनले आग्रह गरेका छन् ।
मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका उप-निर्देशक निरज श्रेष्ठ मञ्चका सचिव कृष्ण तिमिल्सिनाले पोखरा म्याराथनलाई सदाझैं सफल बनाउन आग्रह गरेका थिए ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4