
४ फागुन, धादिङ । धादिङमा एकसाता लामो एन्फा रेफ्री तालिम सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं धादिङ जिल्ला फुटबल संघको सहयोगमा र द इअर्ली ट्रष्ट, चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक २ (नलाङ) को आयोजनामा भएको रेफ्री तालिम सोमबार नलाङ मोडेल एकेडेमी धादिङमा सम्पन्न भएको छ ।
सोमबार आयोजित एक कार्यक्रमबीच एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले रेफ्री तालिमको समापन गरे । ७ दिनसम्म सञ्चालन भएको एन्फा रेफ्री कोर्ष तालिममा चितवन, नवलपरासी, गोर्खा, मोरङ र धादिङ जिल्लाका ५ महिलासहित ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो । जसमध्ये १५ जनाले कोर्स पास गरेको एन्फाले जनाएको छ ।
१५ जना प्रशिक्षार्थीहरुलाई एन्फा अध्यक्ष शेर्पाले एन्फा व्याज वितरण गरे । साथै सर्वोत्कृष्ट प्रशिक्षार्थीको रुपमा गणेश तामाङलाई फुटबल र खेलकुद सामग्रीद्वारा सम्मान गरियो ।
पूर्वफिफा रेफ्री लभ खत्री, पूर्वफिफा सहायक रेफ्री मधुसुदन खनाल, पूर्वफिफा रेफ्री बिरेन्द्र पाण्डे, रोजन श्रेष्ठलगायतका प्रशिक्षकहरुले सहभागीहरुलाई तालिमलाई व्यावस्थापन र सञ्चालन गरेका थिए ।
फुटबल खेलकुदलाई मर्यादित एवं सुधार गर्न र स्थानीय फुटबल खेलप्रेमीहरुलाई व्यावसायिक एवं दक्ष बनाउँदै लैजानको लागि उक्त तालिम सञ्चालन गरिएको नलाङ मोडेल एकेडेमीका प्रिन्सिपल बलराम सिलवालले बताए ।
एन्फा अध्यक्ष शेर्पाले तालिममा सहभागीको संख्या देखेर खुसी व्यक्त गरे । उनले यसबाट देशमा फुटबल विकासमा सहयोग पुग्ने आशा व्यक्त गरे ।
त्यसैगरी धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले धादिङ जिल्लाको फुटबल खेलकुदको विकास र प्रवर्द्धनका लागि सबै प्रयासहरु कार्यन्वयनमा ल्याउने बताए ।
प्रतिक्रिया 4