Comments Add Comment

अमेरिकाको माथिल्लो सदनबाट १९ खर्ब डलरको कोरोना राहत प्याकेज अनुमोदित

२३ फागुन, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले शनिबार १९ खर्ब डलरको कोरोना भाइरस (कोभिड-१९) राहत प्याकेजलाई अनुमोदन गरेको छ । शनिबार सिनेटले अनुमति दिएको भए पनि विपक्षी रिपब्लिकन पार्टीका सबै सिनेटरले भने यो प्याकेजको विपक्षमा मतदान गरेका थिए । अर्को मंगलबार अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले पनि यो प्याकेजलाई अनुमति दिने अपेक्षा छ । तल्लो सदनमा पनि सत्तारुढ डेमोक्रेटिक पार्टीको नियन्त्रण छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सिनेटले राहत प्याकेजलाई अनुमति दिनु आफूले जनताप्रति गरेको वाचा पूरा गर्नको लागि अर्को महत्वपूर्ण कदम रहेको बताएका छन् । कोरोना महामारीको कारण अमेरिकामा पाँच लाख २३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई करोड ९० लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

अहिले ल्याइएको राहत प्याकेजमा अधिकांश अमेरिकी नागरिकलाई १४ सय डलर भुक्तानी दिने योजना छ । मार्चको अन्तिमबाट उक्त रकमको भुक्तानी सुरु हुने बाइडनले बताएका छन् । विपक्षी रिपब्लिकनले भने अहिले ल्याइएको प्याकेज निकै महँगो हुने भन्दै यसको विरोध गर्दै आएको छ ।

सिनेटले अनुमोदन गरेको यो प्याकेजमा अमेरिकाका सबै राज्य र स्थानीय सरकारलार्य तीन खर्ब ५० अर्ब डलर छुट्याइएको छ भने विद्यालयहरुलाई एक खर्ब ३० अर्ब डलर छुट्याइएको छ । कोरोनाको परीक्षण र अनुसन्धानको लागि ४९ अर्ब डलर र खोप वितरणको लागि १४ अर्ब डलर वितरण गरिनेछ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment