
४ चैत, काठमाडौं । फुटसल फाइभ धरान र राइजिङ एफसी अर्को वर्ष पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको लागि छनोट भएका छन् ।
इटहरीमा आयोजना भएको प्रदेश १ छनोट प्रतियोगिताको विजेता र उपविजेता बन्दै फुटसल फाइभ र राइजिङ अन्तिम चरणको लागि छनोट भएका हुन् ।
पाथिभारा फुटसल इटहरीमा मंगलबार सम्पन्न प्रतियोगितामा फुटसल फाइभ च्याम्पियन बनको हो ।
फाइनल खेलमा फुटसल फाइभले राइजिङलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको हो । निर्धारित समयको खेल ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
लिगमा छनोट भएसँगै दुबै टिमले तयारी खर्च स्वरुप समान १-१ लाख पाएका छन् ।
विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, हेड अफ फुटसल विनोद गुरुङलगायतले पुरस्कृत गरे । प्रदेश १ को छनोटमा ८ टिमको सहभागिता रहेको थियो ।
पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिग राष्ट्रिय फुटसल २०७८ जेठ १ देखि २२ सम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ ।
लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।
प्रतिक्रिया 4