
५ चैत, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो ।
गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रु पाँच हजार वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । उनले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले उपलब्ध गराएको बताए ।
नगरपालिकाले कोरोना विरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्तिलाई होम आइसोलेशनमा बस्न र संक्रमणविरुद्ध पौष्टिकयुक्त अहारा खान आग्रह गर्दै त्यसबापत रु पाँच हजार एकमुष्ट सहयोग दिने निर्णयानुसार संक्रमित सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले कोरोना संक्रमितको सङ्ख्या करीब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरुका लागि पोषणभत्तास्वरुप रु ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । अहिलेसम्म नगरपालिकाभित्र कोरोना संक्रमितको सङ्ख्या एकसयको हाराहारीमा रहेको स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए ।
प्रतिक्रिया 4