Comments Add Comment

दोस्रो लिगमा हारे पनि आर्सनल क्वाटरफाइनलमा, अग्रता जोगाउन नसक्दा टोटनहम बाहिरियो

६ चैत, काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डकै अर्को क्लब टोटमहम हट्सपर भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भए पनि आर्सनल समग्रमा ३-२ को नतिजासहित क्वाटरफाईनल पुगेको हो ।

पहिलो लेगमा आर्सनल ३-१ ले विजयी भएको थियो ।

आर्सनलको मैदान एमिरेट्स स्टेडियममा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे । अरबीले ५१औं मिनेटमा गोल गरेका थिए । तर, उक्त गोल ओलम्पियाकोसलाई क्वाटरफाइनल पुर्याउन पर्याप्त भएन ।

यस्तै ८२ औं मिनेटमा ओउसेनु बाले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ओलम्पियाकोस १० खेलाडीमा समेटिएको थियो।

उता टोटेनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

पहिलो लेग २-० ले जितेको टोटनहम दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३-० ले पराजित भएपछि समग्रमा ३-२ को हार व्यहोर्दै बाहिरिएको हो ।

दोस्रो लेगमा जाग्रेबले उत्कृष्ट पुनरागमन गर्दै क्वाटरलाईनल यात्रा तय गरेको हो ।

घरेलु मैदानमा जाग्रेबलाई जित दिलाउन मिस्लाभ ओर्सिचले ह्याट्रिक गरे । उनले ६२औं, ८३औैं र १०६औं मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा जाग्रेबले दुई गोल गरेपछि खेल समग्रमा २-२ को बराबरीमा पुगेको थियो । त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो जसमा गोल गर्दै जाग्रेब विजेता बनेको हो ।

यसैगरी स्पेनको ग्रानडा र भियारियाल, इटलीको रोमा, चेक रिपब्लिकको स्लाभिया प्राग र नेदरल्याण्ड्सको अयाक्स पनि क्वाटरफाइनल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment