१५ चैत, मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको रानी नाका हुँदै भारत आवतजावतमा कडाइ गरेको छ । भारतमा कोरोना संक्रमण बढेका कारण आउजाउमा कडा गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् ।
तर खुला सीमा भएका कारण मुख्य नाकाबाहेक चोरबाटो हुँदै भारत प्रवेश गर्ने र नेपाल फर्कनेको संख्या धेरै छ । सुरक्षाकर्मीले यसलाई रोक्न सकेका छैनन् । दैनिक पाँचदेखि सातसय जना मानिस चोरबाटोबाट आउजाउ गर्ने सुरक्षाकर्मीको अनुमान छ । तर जोगवनीमा बजार लागेको समयमा यो संख्या दोब्बर बढ्छ ।
रानी नाकाबाट भारत आउजाउ गर्नेको संख्या दैनिक १५–२० जना मात्रै रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक खड्काले बताए ।
‘सकेसम्म नाकाबाट सम्झाएर फर्काउने कोसिस गर्छौ, समस्या देखाएर जानेहरु धेरै छन्’ उनले भने । जनशक्ति थप गरी रोक्ने प्रयास गरेपनि सबैलाई रोक्न नसकिएको खड्काको भनाइ छ ।

सामान्य किनमेलका लागि पनि भारत जाने स्थानीय वासिन्दाको प्रचलनका कारण आउजाउ नियन्त्रण गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी निरौला बताउँछन् । ‘नाकामा सतर्कता अपनाएका छौं, मुख्य नाकामा कडाई गरिएको छ ,’ उनले भने,‘सामान्य किनमेलका लागि जोगवनी पुग्नेलाई रोक्न चुनौती छ ।’
हिजोआज नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारत आउजाउ गर्नेलाई नाकामा रोक्ने प्रयास गर्छ । तर किनमेल गर्न जाने स्थानीयलाई रोक्न गाह्रो छ ‘हामीसँग जनशक्तिको कमी छैन, तर किनमेलका लागि भारत नै पुग्नुपर्ने मानसिकताले संक्रमण बढाउने जोखिम छ’, प्रजिअ निरौलाले भने ।
रानी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँच गरिन्छ । शंकास्पदको पहिचान गरी नाकामै एन्टिजिन पनि परीक्षण भइरहेको प्रजिअ निरौलाले बताए । भारतसँग खुला सिमाना जोडिएको विराटनगरको मटेरुवा, दरैया बस्तीलगायत क्षेत्रबाट दैनिक सयौं जना आउनेजाने गर्छन्।

यस्तै विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले भारतमा तीव्र रुपमा कोरोना फैलिएका कारण सर्वसाधारणले सतर्कता अपनाउनु पर्ने बताए ।
उनले भने, ‘ स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गर्नुपर्छ। शंकास्पद र संक्रमित व्यक्ति होम आइसोलेसनमा बसेर सतर्कता अपनाउनुपर्छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4