Comments Add Comment

दुई दशकपछि एकैपटक थपिँदै ६६० भन्सार एजेन्ट

फाइल तस्वीर

१६ चैत, काठमाडौं । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट थप गर्ने भएको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको छ । नेपालमा दुई दशकयता नयाँ भन्सार एजेन्ट थप हुन सकेको थिएन । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको बताए । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् ।

अहिले नेपालमा १ सय ७० हाराहारीमा मात्र भन्सार एजेन्ट रहेका छन् । थप जनशक्ति नहुँदा एजेन्टले प्रतिनिधि खटाएर काम भइरहेको अवस्था थियो । यसबीचमा पटक–पटक भन्सार एजेन्ट नियुक्तिको प्रयास भएपनि सफल हुन सकेको थिएन । अर्थ मन्त्रालयमा विण्णु पौडेल आएसँगै भन्सार एजेन्ट थप्न पहल लिएका थिए । अर्थमन्त्री विण्णु पौडेलका अनुसार अब आउने जनशक्ति प्रविधिमैत्री हुनेछ । यसले राजस्वमा हुने चुवाहट नियन्त्रणमा सहयोग पुग्ने छ । व्यापार सहजिकरण गरी वैध व्यापारमा वृद्धि हुने अपेक्षा सरकारले लिएको उनको भनाइ छ ।

योग्यता के हो ?

भन्सार विभागका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने शर्त तोकिएको छ । नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकि नभएको हुनुपर्नेछ । कुनै फोजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनुपर्नेछ । विभागका अनुसार लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको नियुक्ति गरिने भएको छ । ३ हजार दरखास्त शुल्कसहित विज्ञापन माग भएको हो । विभागका अनुसार दरखास्त दिने अन्तिम मिति ५ वैशाख र दोब्बर दस्तुर तिरी १२ वैशाखसम्म तोकिएको छ । अनलाइनबाटै दरखास्त दिन सकिने भएको छ ।

छनोट भएपछि ७ लाख धरौटी

लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनोट भएका व्यक्तिले नतिजा प्रकाशन भएको मितिले ९० दिन भित्र इजाजतपत्र दस्तुरवापत ७ हजार रुपैयाँ र धरौटीवापत ७ लाख रुपैयाँ भन्सार विभागमा बुझाउनु पर्छ । त्यसपछि मात्र विभागले इजाजत पत्र दिने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment