Comments Add Comment

कीर्तिमान बनाउनबाट चुकेका करण, भन्छन् – अवसर फेरि आउँछ

९ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य करण केसी हिटरका रुपमा परिचित छन् । एक दिवसीय क्रिकेटमा क्यानाडालाई हराउँदा होस् या पेन्टागुलर सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदा होस् उनले गरेको विष्फोटक ब्याटिङ नेपाली क्रिकेटप्रेमीले बिर्सिएका छैनन् ।

फास्ट बलर भएपनि करण तल्लो क्रममा ब्याटिङ गर्दै रन बनाउन सक्ने खेलाडी हुन् । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बिहीबार मलेसियाविरुद्ध त्यस्तै विष्फोटक ब्याटिङ गरेका करण विश्व कीर्तिमान बराबरी गर्नबाट थोरैले चुके ।

मलेसियाविरुद्ध ११ बलमै ४४ रन बनाएका करणले थप एक छक्का प्रहार गरेको भए १३ बलमा अर्धशतक प्रहार गर्ने भारतका युवराज सिंहको कीर्तिमानसँग बराबरी गर्ने थिए । तर उनले १२ औं बलमा एक रन मात्र जोड्न सके । १३ औं बलमा त उनी आउट भए ।

विश्व कीर्तिमान बनाउन बाट चुक्नुभयो नि भन्ने प्रश्नमा केसी यस्तो अवसर फेरि आउने बताउँछन् । ‘जहिलेसम्म खेलिन्छ अवसर पाइन्छ । आज मिस भयो । आशा छ अर्कोपटक लाग्छ । त्यस्तो नराम्रो फिलिङ चाहिँ भएको छैन’ उनले भने ।

करणले १३ बल खेल्दा ७ छक्काको मद्दतमा ४५ रन बनाए । उनकै उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसियालाई १४८ रनमै अलआउट गर्दै नेपालले ६९ रनको जित हात पार्‍यो ।

नेपालले अन्तिम चार ओभरमा ६७ रन जोड्दा करणले कुशल मल्लसंग छैटौं विकेटका लागि २१ बलमै ६६ रनको साझेदारी गरेका थिए ।

१६ औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी आउट भएपछि करण क्रिजमा पुगेका थिए । नेपालको स्कोर २०० रन पनि पुग्दैन कि भन्ने अवस्थामा करणले खेलको स्वरुप नै बदलेका थिए । ‘तीन ओभर बाँकी थियो । फिनिस गर्ने भनेर नै गएको थिएँ । सुरुमा एउटा बल बाउन्ड्री हान्छु त्यसपछि कनेक्ट गर्ने, कम्तीमा २०० पुर्‍याउँछु भन्ने थियो’ करणले खेलपछि भने ।

११ बलमै ४४ रन बनाएका करणले साथीहरुबाट छक्का हाने रेकर्ड बन्छ भन्ने सुने । ‘मलाई रेकर्डबारे थाहा थिएन । तर बाहिरबाट एउटा छक्का भनिरहेका थिए । त्यसपछि सोचेँ, उनीहरुले रेकर्डको लागि भनिरहेका होलान्, अनि मैले हान्छु भनेर सोचेकै थिएँ’ उनी भन्छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले पनि नेपालको स्कोर २०० रन पुग्छ कि पुग्दैन भनेर सोचेको बेला करणको इनिङ्सले खेल परिवर्तन भएको बताए । ‘हाम्रो निरन्तर विकेट गइराथ्यो । त्यो बेला करणले छक्का हानेर साइकोलोजी नै परिवर्तन गरे’ मल्लले भने ।

करणले टिममा आफ्नो काम हिटिङ गर्ने नै भएको तर सधैँ दिन उस्तै नहुने बताए । ‘मैले गर्ने हिटिङ नै हो । हिटिङको लागि दिन चाहिन्छ । सधैँ एउटै हुँदैन, आज लाग्यो । मेरो उद्देश्य भनेको नेपाललाई जिताउने नै हो’ उनले भने ।

यसअघि नेदरल्याण्डसविरुद्धको खेलमा करण दोस्रो बलमै आउट भएका थिए । त्यसैले उनले आज अलि विचार गरेर खेलेको बताए । प्रशिक्षकले पनि केही बल हेरेर खेल्न सुझाव दिएको बताए । ‘कोचले पनि केही समय लेउ भन्नुभएको थियो । तिम्रो हिटिङ राम्रो छ । पावर छ । केही बल खेल अनि तिमीले हान्न सक्छ भन्नुभाथ्यो । त्यही गरेँ’ करणले भने ।

करणले चोटबाट पुरै निको नभइसकेकोले बलिङमा पनि केही परिवर्तन गरिरहेको बताए । ‘बलिङमा कन्फिडेन्स त छ  तर पहिला जस्तो भइरहेको छैन’ उनले भने, ‘अझै दुखाइ छ । अब त्यस्तो दुखाइ खेल्दा खेल्दै जाने हो भनेर डाक्टरले भनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment