Comments Add Comment

६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई दिंदै अमेरिका

१४ वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेका मुलुकलाई अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नियामक निकायले सुरक्षा समीक्षा गरेपछि अमेरिकाले आगामी महिनामा अन्य मुलुकलाई कोरोना खोप पठाउनेछ ।

अहिलेसम्म अमेरिकाले आफ्ना नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाउने अनुमति दिएको छैन । तर यसअघि नै अमेरिकाले ठूलो परिणाममा यो खोप खरिद गरिसकेको छ ।

आलोचकहरुले अन्य मुलुक कोरोना महामारीको चपेटामा परिरहेको समयमा खोप जम्मा पारेर राखेको भन्दै अमेरिकाको आलोचना गरेका छन् । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले एस्ट्राजेनेकाको कोरोना खोपको ४० लाख डोज मेक्सिको र क्यानडालाई दिने घोषणा गरेका थिए । यी दुवै मुलुकले एस्ट्राजेनेकाको खोपलाई अनुमति दिइसकेका छन् ।

पछिल्लो समय भारतमा देखिएको कोरोना संक्रमणको लहरले पनि अमेरिकालाई आफूले जम्मा पारेर राखेको खोप अन्य मुलुकलाई दिन दबाब बढेको हो । अमेरिकाको ह्वाइट हाउसले एक करोड डोज खोप अबको केही सातामा निर्यात गर्न सकिने र बाँकी ५ करोड डोज खोप उत्पादनको विभिन्न चरणमा रहेको बताएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीका अनुसार खोप निर्यातको लागि एक टोली बनाइनेछ र सोही टोलीले खोप निर्यातको विषयमा थप जानकारी सार्वजनिक गर्नेछ । साथै खोप कुन मुलुकमा निर्यात गर्ने भन्ने निर्णय पनि सोही टोलीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment